११ वर्ष अगाडि इन्धनमा पानी मिसाएकाे कसुरमा आयल निगमले ११ कराेड क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौंः गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमबाट फर्नेस आयल खरिदको सम्झौता गरेको थियो । उक्त इन्धनमा बढीमा एक प्रतिशतसम्म पानीको मात्रा हुनुपर्नेमा २६ प्रतिशतसम्म पानी भेटिएको भन्दै प्राधिकरण निगम विरुद्ध अदालत गएको थियो ।
करिब ११ वर्ष पुरानो घटनामा सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन उपलब्ध गराएकोमा नेपाल आयल निगमलाई दोषी ठहर गरेको हो । गुणस्तरहीन तेल उपलब्ध गराएपछि नियमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँ तिर्नुपर्ने फैसला भएको छ ।