भोटेकोशी नदीमा अचानक बाढी, पाँच जिल्लामा उच्च सतर्कता
काठमाडौँः रसुवाको भोटेकोशी नदीमा अचानक पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ। नदीमा पानीको बहाव उच्च भएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदी तथा तटीय क्षेत्रमा समेत बाढी बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीका कारण केही घर तथा बस्तीमा पानी पसेको बताइएको छ। यद्यपि, बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भोटेकोशी आसपास तथा जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न तथा नदी किनार र तल्लो तटीय क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ।
चीनतर्फ भएको भारी वर्षाका कारण बाढी आएको हो वा हिमताल विस्फोटका कारण नदीमा पानीको बहाव बढेको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन भइसकेको छैन। घटनाबारे थप विवरण तथा क्षतिको यकिन तथ्यांक आउन बाँकी छ।