प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि विदुर प्रस्थान
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्। उनीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहँदै आएका थिए। बाढीलगत्तै उहाँले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए।
समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको निरीक्षण गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग तत्काल राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्नेछ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्रीको स्थलगत निरीक्षणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।