जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा उद्धार कोषमा ३ करोड सहयोग
काठमाडौंः देशभर गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा पुनरुत्थानका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
जेजीआईले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई राहत र सहयोग पु¥याउने उद्देश्यले उक्त रकम सरकारको उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।
कम्पनीका अनुसार विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्वको महत्वपूर्ण हिस्सा हो। पछिल्लो सहयोगले जेजीआईको कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट पारेको कम्पनीले जनाएको छ ।
जेजीआईले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा प्रभावित समुदायको उद्धार तथा राहतका लागि सहयोग गर्दै आएको जनाएको छ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति जेजीआईले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, बाढीका कारण कठिनाइ भोगिरहेका सम्पूर्ण नागरिक तथा समुदायप्रति कम्पनीले ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको छ।
जेजीआईले विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनरुत्थानका लागि राज्य तथा सम्बन्धित निकायले गरिरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाएको छ।