सुदूर नेपाललाई विश्वसँग जोड्दै

विभिन्न दृष्टिकोणबाट श्रीकृष्ण

२०८३ भदौ १९, ०९:४०

सामान्य अर्थमा कृष्ण भन्नासाथ मोक्ष दिनेवाला मोहित पार्नेवालालाई बुझाउँछ।

यसलाई थप परिष्कार गर्दाखेरि पूर्ण अवतार, चौसठ्ठी कलाले युक्त ,कालो वर्ण वर्णको रूपमा बुझाउँछ अझै विशिष्ट शैली प्रयोग गरिँदाखेरि कृष्ण एक तत्त्वको रूपमा, विश्व जगतगुरुको रुपमा प्रस्तुत गरिएको पाइन्छ। आधुनिक परिवेशमा जाने हो भनेपछि श्रीकृष्णलाई एक राजनीतिज्ञ ,समाजसेवी, मनोवैज्ञानिक ,कुटनीतिज्ञ ,मानवशास्त्रीको रुपमा हेर्ने गरिएको पाइन्छ। 

महाभारत र श्रीमद्भागवतमा उल्लेख भए बमोजिम श्रीकृष्णको चातुर्यताले गर्दा द्वारका नगरी स्थापना गर्न सक्नु, समाजलाई जस्तो हित चाहिएको छ त्यही अनुरुप कार्य गर्नु समाजलाई चलायमान बनाइराख्नु , विभिन्न समस्याहरु पर्दा व्यक्तिगत र सामूहिक रुपमा उत्प्रेरक वा भनौ उत्प्रेरककर्ताको रूपमा आफूलाई प्रस्तुत गर्नु , आवश्यक पर्दा कहाँ के गर्ने भनी विभिन्न चालहरूको बारेमा अग्रिम थाहा पाउनु र सोही अनुसार क्रियात्मक बनि वा भनौ कर्मलाई निरन्तरता दिइरहने व्यक्तिको रूपमा लिने गरिन्छ।

जहिले पनि मानव जगत र चराचर जीवलाई संरक्षण गर्नमा एक अभिभावकीय भूमिका खेलेको पाउन सक्छौँ । साथीको रूपमा हेर्ने हो भनेपछि एक असल साथीको रुपमा र जिम्मेवारीको हिसाबले हेरौं भने एउटा असल पतिको रुपमा सँगै असल प्रेमिकाको रुपमा आफूलाई प्रस्तुत गरेका छन्। कृष्ण अर्थमा अर्को जोडिने पाटो भनेको एउटा आकर्षण तत्त्व जुन मोहितसँग सम्बन्धित छ कुनै पनि व्यक्तिलाई सजिलै मोहित पार्न सक्ने गुण भएको व्यक्तिलाई जनाउँदछ।

सुरुवातको जन्मदेखि एक सङ्घर्षशील व्यक्तिको रुपमा ज्ञानको रुपमा ६४ कलालाई आर्जन गरेर विभिन्न नीतिहरूमा पोक्त र विभिन्न शास्त्रहरूको ज्ञाता भई त्यसलाई सही रुपमा प्रयोग गर्ने एक आदर्शवान पुरुषको रुपमा लिने गरिन्छ। 
श्रीकृष्णसँग जोडिएर आउने भनेको श्रीमद्भगवद्गीता हो। 

जीवन जगतलाई बुझ्न उपदेशात्मक शैली प्रस्तुत गरी श्रीकृष्ण एक अर्जुन समक्ष ज्वाई जेठानको रुपमा मात्र नभई एक गुरुको रुपमा प्रस्तुत भएका छन्। जहाँ कर्म, ज्ञान र भक्ति योगको बारेमा चर्चा भएको पाइन्छ। श्रीकृष्णसँग सम्बन्धित साहित्यकारहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा लेखनाथ पौडेल बालकृष्ण सम भानुभक्त आचार्य बसन्त शर्मा बैरागी काइला माधवप्रसाद घिमिरे आदि विभिन्न कवि र साहित्यकारहरूले श्रीकृष्णलाई एक आदर्श व्यक्तिको रुपमा औल्याएको पाइन्छ। 

आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो न भो ज्ञान विवेक इत्यादि देवकोटाद्वारा रचित, उपर कदम छायाँ हातमा दिव्य वेणु इत्यादि लेखनाथ पौडेल आफ्नो कवितामा लेखेका छन्। भनिन्छ भगवानको जन्म मृत्यु हुँदैन। केवल प्राकट्य मात्र हुने गर्दछ त्यही प्राकट्य उत्सवको रुपमा लिइने कृष्ण जन्माष्टमी पनि एक हो। यो चारवटा रात्रीमध्ये मोहरात्री अन्तर्गत पर्ने गर्दछ। 

कृष्णबाट सिकिने धेरै कुराहरू छन्। जसबाट राजनीतिका कुरा कूटनीतिका कुरा मानवताका कुरा शास्त्रका कुरा र शस्त्रका कुरा सँगै प्रेमको कुरा पनि जोडिएर आउने गर्दछ। मानव जगतलाई जोगाउनका लागि धरतीमा वा भनौ यस धराधाममा मानव हितको लागि श्रीकृष्ण पृथ्वीमा अवतरण हुनुभएको हो। कृष्ण तत्त्व आफैमा अवाच्य छ। यसको बारेमा भागवत महापुराणमा दशम स्कन्द यसको सविस्तार व्याख्या गरिएको छ।

श्रीकृष्ण तत्वलाई कतिसम्म जान्ने कतिसम्म बुझ्न सकिन्छ भन्ने कुराको मापन कुनै पनि यन्त्र वा भनौँ कुनै पनि प्रविधि विकास भएको पाइँदैन। मानव जगतले विभिन्न नाम र कर्मको आधारमा बुझे पनि त्यो केवल संक्षिप्त रूपमा मात्र हुन जान्छ । यसर्थ श्रीकृष्ण नाम शब्द हेर्दा सुन्दा जति सजिलो देखिएतापनि बोल्दा चाहिँ उच्चारणमा बिना दन्ते स्थानबाट श्रीकृष्ण उच्चारण गर्न सकिन्न। ठिक त्यसैगरी श्रीकृष्ण तत्व पनि त्यस्तै नै रहेको पाइन्छ।  

तत्त्वको रूपमा ब्रह्मतत्वको रुपमा लिए पनि श्रीकृष्ण आफैमा एक ब्रह्मतत्वको स्वरूप नै हुन्। श्रीकृष्णले गरेका क्रियाकलापहरू सादृश्य रुपमा अमानवीय जस्तो देखिए तापनि दार्शनिक पक्षबाट केलाउँदा वा भनौँ दर्शनको पक्षबाट हेर्दा मानवीय जगत र मूल्यमान्यता लाई जोगाई राख्न एक असल पात्रको रूपमा श्रीकृष्णलाई लिन सकिन्छ। परिवेश अनुसार आफूले आफूलाई परिस्थिति अनुसार ढाल्न सक्ने गुण क्षमता भएको व्यक्तिको रूपमा श्रीकृष्णलाई हामीले बुझ्न सक्छौं।

लेखकः वेद प्रकाश उपाध्याय 
 

कमेन्ट लोड गर्नुस