न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
काठमाडौँः अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ ।
एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो । नेपालले यसअघि तास्मिनियासँग दुई विकेट र दक्षिण अष्ट्रेलियासँग एक सय ३८ रनको हार व्यहोरेको थियो । आज भएको अन्तिम खेलमा डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ‘ए’को पारी निर्धारित ५० ओभरमा दुई सय ११ रनमा समेटियो ।
नेपालका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै, लोकेश बमले ६४ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० र विपिन खत्रीले १२ रन जोडे ।
बलिङतर्फ न्युजिल्यान्ड ‘ए’का लागि म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए ।
दुई सय १२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्ड ‘ए’ ४९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर विजयी भयो । न्युजिल्यान्ड ‘ए’का लागि राइस मारिउले शतकीय पारी खेले । उनले १३४ बलमा १६ चौका र तीन छक्कासहित १३७ रन बनाए ।
बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई दुई तथा विपिन खत्री र पवन सर्राफले एक एक विकेट लिए ।