सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेनजी आन्दोलनका सहिदको सम्झनामा भोलि सार्वजनिक बिदा

२०८३ भदौ २२, ०५:२१ खबर संवाददाता

धनगढी: सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरणमा भोलि मंगलबार, सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको सम्मानस्वरूप सरकारले भदौ २३ गतेलाई स्मरण दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सोही अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएको छ।

जेनजी आन्दोलनका क्रममा युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारीको सुनिश्चितता तथा नागरिकका अधिकारको संरक्षणलगायतका माग अघि सारेका थिए। आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको थियो भने केही युवाले ज्यानसमेत गुमाएका थिए।

सरकारले आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई सहिदको सम्मान दिने तथा उनीहरूको योगदानलाई संस्थागत रूपमा स्मरण गर्ने बताउँदै आएको छ। भदौ २३ गते विभिन्न कार्यक्रममार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरण तथा सम्मान गरिने जनाइएको छ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भदौ २३ गते देशभरका सरकारी तथा सार्वजनिक निकायका नियमित सेवा प्रभावित हुनेछन्। सहिदहरूको बलिदानलाई राज्यले औपचारिक रूपमा सम्मान गर्दै स्मरण दिवस मनाउने सरकारको निर्णयले आन्दोलनका क्रममा उठाइएका मुद्दालाई समेत पुनः बहसमा ल्याउने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस