सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटपाथमा सुत्केरी गराइएको घटना छानबिन गर्न स्वास्थ्य मन्त्रालयको टोली राजविराजमा

२०८३ भदौ २६, ०२:३३ खबर संवाददाता

धनगढी: स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माउनुपरेको घटनाको छानबिन गर्न टोली परिचालन गरिएको जानकारी दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक भएलगत्तै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको क्युरेटिभ डिभिजनका प्रमुख डा. पवन रायमाझीसहितको संयुक्त छानबिन टोली गठन गरिएको बताए।

तत्काल सत्यतथ्य पत्ता लगाउन टोलीलाई राजविराज पठाइएको र अहिले घटनाबारे जाँचबुझ भइरहेको उनले जानकारी दिए। स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्समध्ये जोसुकैको गल्ती वा कमजोरी पुष्टि भए पनि मन्त्रालयले दोषीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाए।

बैठकमा सांसद रमेश मल्लले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल संघीय सरकार मातहत रहेकाले त्यहाँ भएको गम्भीर घटनाको नैतिक जिम्मेवारी स्वास्थ्य मन्त्री र सचिवले लिनुपर्ने बताए। घटनामा संलग्न दोषीमाथि शीघ्र छानबिन गरी कडा कानुनी कारबाही गर्न उनले माग गरे।

सरकारी अस्पतालमा आगामी दिनमा यस्ता अमानवीय घटना दोहोरिन नदिन मन्त्रालयले के–कस्ता योजना र ठोस प्रतिबद्धता अघि सारेको छ भन्नेबारे पनि सांसद मल्लले स्पष्ट जवाफ माग गरे।
 

कमेन्ट लोड गर्नुस