सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपेनले बालशिक्षामा ल्याएको नयाँ बहस

२०८३ भदौ २८, ०३:१५

सुरेन्द्र बोहराः परिवर्तनको सुरुवात प्रायः प्रश्नबाट हुन्छ। नयाँ सोच आउँदा त्यसलाई तुरुन्तै स्वीकार गरिँदैन। आलोचना हुन्छ, शंका गरिन्छ र कतिपय अवस्थामा त्यसको खिल्लीसमेत उडाइन्छ। तर समयसँगै जब त्यही सोचले व्यवहारमा सकारात्मक परिणाम देखाउन थाल्छ, समाजले त्यसलाई परिवर्तनका रूपमा स्वीकार गर्न थाल्छ।

नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा परम्परागत राजनीतिक अभ्यासमाथि नयाँ प्रश्न उठाउने प्रयासहरू भए। सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारसँगै सञ्चार क्षेत्रमा पनि समाचार प्रस्तुत गर्ने शैली, पहुँच र प्रभावको नयाँ अभ्यास स्थापित भयो। यी परिवर्तनले एउटा कुरा स्पष्ट पारेका छन् समय बदलिँदा सोच, शैली र संस्थागत अभ्यास पनि बदलिनुपर्छ। शिक्षा क्षेत्र पनि यसबाट अलग रहन सक्दैन।

विशेषगरी प्रारम्भिक बालशिक्षाको क्षेत्रमा लामो समयदेखि बालबालिकालाई किताब, कापी, गृहकार्य र अनुशासनको परम्परागत ढाँचाभित्र राख्ने अभ्यास बलियो रह्यो। तर बालबालिकाको सिकाइ केवल पाठ्यपुस्तक र परीक्षा केन्द्रित अभ्यासबाट सम्भव हुँदैन भन्ने बुझाइ विस्तार हुँदै गएको छ। यही सन्दर्भमा “एसोसिएसन अफ प्रि-स्कुल एजुकेसन नेपाल” अपेनले प्रारम्भिक बालशिक्षाका विषयलाई फरक ढंगले उठाएर एउटा महत्वपूर्ण बहस अघि सारेको छ।

विद्यालय बालबालिकाका लागि केवल पढ्ने ठाउँ मात्र होइन, उनीहरूको व्यक्तित्व निर्माण हुने वातावरण पनि हो। विद्यालयमा प्रवेश गर्दा बच्चाले डर होइन, अपनत्व महसुस गर्नुपर्छ। शिक्षक बच्चाका लागि भयको पात्र होइन, सिकाइको सहयात्री बन्नुपर्छ। कक्षा कोठा केवल पाठ पढाउने ठाउँ नभई प्रश्न गर्न, खेल्न, सिर्जना गर्न, गाउन, नाच्न र आफ्ना भावना व्यक्त गर्न सक्ने सुरक्षित वातावरण बन्नुपर्छ।

यो कुरा आज सुन्दा सामान्य लाग्न सक्छ। तर हाम्रो शैक्षिक संस्कारमा यस्तो सोच सधैँ सामान्य थिएन। अनुशासनका नाममा बालबालिकालाई डर देखाउने, थर्काउने, अत्यधिक दबाब दिने र कतिपय अवस्थामा शारीरिक सजायसमेत दिने अभ्यासलाई लामो समयसम्म सामान्य रूपमा लिइयो। अहिले भने शिक्षा क्षेत्रमा एउटा महत्वपूर्ण प्रश्न उठेको छ, बालबालिकालाई डराएर पढाउने कि सुरक्षित र सकारात्मक वातावरण दिएर सिकाउने?

अपेनले यही प्रश्नलाई सार्वजनिक बहसको विषय बनाउने प्रयास गरेको हाे।

बालबालिकाको प्रारम्भिक वर्षहरू उनीहरूको भावनात्मक, सामाजिक, बौद्धिक र व्यवहारिक विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण हुन्छन्। यही उमेरमा प्राप्त हुने अनुभवले उनीहरूको आत्मविश्वास, सिकाइप्रतिको रुचि र मानिस तथा समाजलाई हेर्ने दृष्टिकोण निर्माण गर्न ठूलो भूमिका खेल्छ। त्यसैले प्रारम्भिक बालशिक्षालाई केवल विद्यालय सञ्चालनको विषयका रूपमा हेर्नुभन्दा बालबालिकाको दीर्घकालीन विकाससँग जोडेर हेर्न आवश्यक छ।

यस अर्थमा बालमैत्री शिक्षा कुनै फेसन वा विद्यालयको प्रचार सामग्री होइन। यो शिक्षाको आधारभूत दृष्टिकोणसँग सम्बन्धित विषय हो।

कुनै विद्यालयले बालबालिकालाई गीत गाउन, खेल्न, नाच्न वा सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदा त्यसलाई विगतमा कतिपयले पढाइभन्दा बाहिरको गतिविधिका रूपमा हेरे होलान्। शिक्षकले विद्यार्थीलाई डराएर नियन्त्रण गर्नुको सट्टा उनीहरूसँग आत्मीय सम्बन्ध बनाएर सिकाउन खोज्दा त्यसलाई अनुशासन कमजोर भएको रूपमा बुझ्ने प्रवृत्तिसमेत थियो। तर आज शिक्षाविज्ञान, बालमनोविज्ञान र व्यवहारिक अभ्यासले बालबालिकाले सुरक्षित, सम्मानजनक र सकारात्मक वातावरणमा अझ प्रभावकारी रूपमा सिक्ने कुरालाई प्राथमिकता दिएको छ।

त्यसैले परिवर्तन भनेको पुरानो सबै कुरा गलत र नयाँ सबै कुरा सही हो भन्ने होइन। परिवर्तन भनेको समयअनुकूल अभ्यासलाई पहिचान गर्नु र आवश्यक सुधार गर्न सक्नु हो। यही ठाउँमा अपेनको भूमिकालाई हेर्नुपर्छ।

अपेनले प्रारम्भिक बालशिक्षासँग सम्बन्धित विषयलाई निजी विद्यालयको सीमित सरोकारबाट बाहिर निकालेर राष्ट्रिय शिक्षा नीतिसँग जोडेर बहसमा ल्याउने प्रयास गरेको छ। प्रारम्भिक बालशिक्षामा रहेको ठूलो निजी लगानी, हजारौँ विद्यालय र लाखौँ बालबालिकासँग सम्बन्धित विषयलाई नीतिगत तहमा स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने माग आफैँमा महत्वपूर्ण बहस हो।

जन्मेदेखि तीन वर्षसम्मको बालस्याहारदेखि तीनदेखि आठ वर्षसम्मको प्रारम्भिक तथा अर्ली ग्रेड शिक्षासम्म स्पष्ट नीति र कानुनी व्यवस्थाको आवश्यकता औँल्याउनु पनि दीर्घकालीन शैक्षिक सुधारकै एउटा हिस्सा हो। तर कुनै पनि संगठनको सफलता केवल संगठनको आकार, कार्यक्रमको संख्या वा सार्वजनिक चर्चाबाट मापन हुँदैन। वास्तविक सफलता त्यसले व्यवहारमा कस्तो परिवर्तन ल्यायो भन्ने कुराले निर्धारण गर्छ।

यदि कुनै विद्यालयले बालबालिकाप्रति पहिलेभन्दा बढी संवेदनशील व्यवहार गर्न थाल्छ भने त्यो परिवर्तन हो। यदि कुनै शिक्षकले सजायको सट्टा संवाद र सकारात्मक अनुशासनलाई प्राथमिकता दिन थाल्छ भने त्यो परिवर्तन हो। यदि अभिभावकले विद्यालयलाई केवल परीक्षा र नतिजाको केन्द्र नभई आफ्नो बच्चाको विकास हुने दोस्रो घरका रूपमा बुझ्न थाल्छ भने त्यो परिवर्तन हो। र यदि कुनै बच्चा विद्यालय जाने नाम सुन्दा डराउनुको सट्टा उत्साहित हुन्छ भने त्यो परिवर्तनको सबैभन्दा सुन्दर परिणाम हो।

त्यसैले अपेनले सुरु गरेको बहसलाई केवल निजी विद्यालयको हितसँग जोडेर हेर्नु पर्याप्त हुँदैन। यसको प्रभाव र उद्देश्यलाई बालबालिकाको सिकाइ, सुरक्षा, मानसिक विकास, शिक्षकको भूमिका र विद्यालयको समग्र वातावरणसँग जोडेर हेर्न आवश्यक छ।

तर यहाँ अपेनका लागि पनि एउटा चुनौती छ। नयाँ सोच अघि सार्नु मात्र पर्याप्त हुँदैन। त्यसलाई व्यवहारमा प्रमाणित गर्नुपर्छ। बालमैत्री शिक्षा नारामा सीमित नहोस्, शिक्षकको व्यावसायिक विकाससँग जोडियोस्, विद्यालयको संस्कारमा देखियोस् र बालबालिकाको वास्तविक अनुभवमा महसुस होस् भन्ने सुनिश्चित गर्नुपर्छ। त्यसैगरी अनुशासन र बालमैत्रीताबीचको सन्तुलन पनि स्पष्ट हुनुपर्छ। बालमैत्री विद्यालय भनेको अनुशासनविहीन विद्यालय होइन; बरु डर र सजायमा आधारित अनुशासनको सट्टा जिम्मेवारी, आत्मअनुशासन, संवाद र सकारात्मक प्रेरणामा आधारित संस्कार निर्माण गर्नु हो।

यस दृष्टिले हेर्दा अपेनले शिक्षामा एउटा प्रकारको ‘अभ्यास’ ल्याउने प्रयास गरेको भन्न सकिन्छ। यो भौतिक संरचना वा आवरणीय परिवर्तनकाे अभ्यास होइन, पुरानो सोच र प्रवृत्तिमाथि प्रश्न उठाउने बौद्धिक र शैक्षिक हलचल हो।

शिक्षामा यस्तो हलचल आवश्यक पनि छ। किनकि आजको बालबालिका हिजोको जस्तो छैन। सूचना र प्रविधिको पहुँचले उनीहरूको संसार बदलिएको छ। अभिभावकका अपेक्षा बदलिएका छन्। बालमनोविज्ञानबारे हाम्रो बुझाइ विस्तार भएको छ। सिकाइका विधि परिवर्तन भएका छन्। यस्तो अवस्थामा विद्यालयको शैली पनि समयअनुकूल परिवर्तन हुनैपर्छ।

परिवर्तनको मूल्य प्रचारले होइन, परिणामले निर्धारण गर्छ। अपेनले उठाएका विषयहरू पनि अन्ततः त्यही परीक्षाबाट गुज्रिनुपर्छ। यसको अभियानले विद्यालयलाई अझ जिम्मेवार बनायो कि बनाएन, शिक्षकलाई अझ संवेदनशील बनायो कि बनाएन, अभिभावकलाई अझ सचेत बनायो कि बनाएन र बालबालिकाको विद्यालय अनुभवलाई अझ सुरक्षित, खुसी र सिर्जनात्मक बनायो कि बनाएन यसको उत्तर भविष्यले दिनेछ।

तर एउटा कुरा स्पष्ट छ। प्रारम्भिक बालशिक्षालाई गम्भीरतापूर्वक बहसमा ल्याउने समय आइसकेको छ। बालबालिकालाई केन्द्रमा राखेर विद्यालय, शिक्षक, अभिभावक र नीतिनिर्माताबीच नयाँ समझदारी निर्माण गर्नुपर्ने आवश्यकता छ।

यदि अपेनले यही बहसलाई निरन्तरता दिन सक्छ, आलोचनाबाट सिक्दै आफ्ना अभ्यासलाई सुधार गर्न सक्छ र उठाएका मुद्दालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्न सक्छ भने शिक्षामा सुरु भएको यो हलचल दीर्घकालीन परिवर्तनको आधार बन्न सक्छ।

अन्ततः शिक्षा डरबाट होइन, विश्वासबाट बलियो हुन्छ। दबाबबाट होइन, प्रेरणाबाट सिकाइ दिगो हुन्छ। र बालबालिकाको भविष्य उनीहरूलाई कति धेरै पढाइयो भन्ने मात्र होइन, उनीहरूलाई कस्तो वातावरणमा हुर्काइयो भन्ने कुराले पनि निर्धारण गर्छ।

त्यसैले अपेनले शिक्षामा सुरु गरेको बहसलाई एउटा नयाँ सुरुवातका रूपमा लिन सकिन्छ डरबाट मायातर्फ, दबाबबाट प्रेरणातर्फ र परम्परागत शिक्षण संस्कारबाट बालमैत्री शिक्षातर्फको यात्राका रूपमा। धन्यवाद।। 

कमेन्ट लोड गर्नुस