बुवाको मुख हेर्न नपाउने छोरो
प्रकाश रिमालः भदाै महिनाको दोस्रो हप्ता चलिरहेको थियो। अदालतमा मेरो नियमित काम चलिरहेको थियो। सेवाग्राहीहरू आउने–जाने क्रम उस्तै थियो। कोही आफ्नो मुद्दाको काम लिएर आउँथे, कोही तारिख बुझ्न, कोही कुनै अन्य कामका लागि। म पनि आफ्नो जिम्मेवारीअनुसार सबैको काम गरिरहेको थिएँ।
त्यही क्रममा एकजना महिला सेवाग्राही आफ्नो काम लिएर लाइनमा आइपुग्नुभयो। उहाँको काम गर्दै मैले सहज रूपमा भनेँ, “असोज २६ गते अर्को तारिखमा आउनुहोला है।”
मेरो कुरा सकिन नपाउँदै उहाँले भन्नुभयो, “आम्मा! त्यो दिन त बुवाको मुख हेर्ने दिन पो त! म त्यो दिन तारिख लिन आउन भ्याउँदिनँ।”
सायद उहाँले त्यो कुरा सामान्य रूपमा भन्नुभएको थियो। उहाँका लागि त्यो आफ्नो बुवासँग भेट्ने, आशीर्वाद लिने र सँगै समय बिताउने एउटा खुसीको दिन थियो। तर उहाँको त्यो एउटा वाक्यले भने मेरो मनको कुनै गहिरो कुनामा पुगेर असाध्यै ठूलो आवाजमा करायो।
एकछिन मेरा हात रोकिए। अनुहारमा अचानक अनौठो प्रतिक्रिया आएछ क्यारे। मनमा कालो बादल मडारिएजस्तो भयो। उहाँले मेरो अनुहारतिर हेर्दै सोध्नुभयो, “के भयो, सर?”
मैले आफूलाई सम्हाल्दै भनेँ, “केही पनि होइन... अनि कहिले आउनुहुन्छ त?”
उहाँले भन्नुभयो, “२५ गते राखिदिनु न, २७ गते त सार्वजनिक बिदा रहेछ।”
मैले २५ गतेको तारिख मिलाइदिएँ। उहाँ आफ्नो काम लिएर जानुभयो। कुराकानी त्यत्तिमै सकियो। तर उहाँले उच्चारण गर्नुभएको एउटा वाक्य भने मेरो मनबाट जान सकेन।
“बुवाको मुख हेर्ने दिन...”
काभ्रेपलाञ्चोकमा बिताएका करिब सात महिनामा मैले धेरै सेवाग्राही भेटेँ। अपवादबाहेक सबै सेवाग्राही आत्मीय भएर कुराकानी गरेर जान्थे। सेवाग्राहीसँगको यस्तै मिठो व्यवहारले काभ्रेको मेरो बसाइँलाई अविस्मरणीय बनाएको छ। तर त्यो दिन भेटिनुभएकी ती अपरिचित महिलाले भने मलाई आफ्नै जीवनको एउटा यस्तो अध्यायतिर फर्काइदिनुभयो, जहाँबाट म चाहेर पनि उम्किन सक्दिनँ।
बेलुकी घर फर्किएँ। खानपिन सकेँ। दिनभरिका काम र भेटिएका मानिसहरूलाई सम्झिँदै थिएँ। यो मेरो दैनिकजस्तै बानी हो। दिन सकिएपछि दिनभरि भएका कुराहरू एकपटक मनमा दोहोर्याउने।
त्यसै क्रममा फेरि उहाँको आवाज आयो, “त्यो दिन त बुवाको मुख हेर्ने दिन पो त...”
म केहीबेर शून्य भएँ। किनकि यस वर्ष मेरो जीवनमा पनि बुवाको मुख हेर्ने दिन त आउँदै थियो, तर बुवाको मुख हेर्नका लागि बुवा भने हुनुहुन्नथ्यो।
त्यसपछि सम्झनाहरू एकपछि अर्को गर्दै आउन थाले।
सबैभन्दा पहिले बुवा सम्झिएँ।
मलाई आजको “म” बनाउन उहाँले गर्नुभएको संघर्ष सम्झिएँ। आफ्नो जीवनका धेरै दुःखहरू चुपचाप सहेर मेरा लागि बाटो खोजिरहनुभएको बुवा सम्झिएँ। आफूले अभाव झेलेर पनि छोराको भविष्यमा अभाव नहोस् भन्ने सपना बोकेर हिँडेको त्यो अनुहार सम्झिएँ।
मलाई पढाउन उहाँले गर्नुभएको दुःख सम्झिँदा आज पनि मन भारी हुन्छ। मैले लोकसेवा पढ्ने इच्छा सुनाउँदा उहाँले त्यसलाई केवल एउटा इच्छा भनेर लिनुभएन। त्यसलाई आफ्नो छोराको भविष्यको सपना बनाउनुभयो।
एक दिन लोकसेवा पढ्न काठमाडौं जाँदै गर्दा बुवाले एउटा कागजमा बाटोको नक्सा कोरेर दिनुभएको थियो। कागजमा कोरिएका ती सामान्य रेखाहरू आज सम्झिँदा असाध्यै मूल्यवान् लाग्छन्। त्यो काठमाडौं जाने बाटोको नक्सा थियो।
तर आज लाग्छ, बुवाले त्यस दिन कागजमा काठमाडौंको बाटो मात्र कोर्नुभएको रहेनछ। उहाँले मेरो भविष्यको बाटो कोर्नुभएको रहेछ।
“यहाँबाट यसरी जानू, यहाँ पुगेपछि यस्तो बाटो समात्नू...” भन्दै उहाँले बाटो सम्झाउनुभएको त्यो क्षण आज पनि आँखाअगाडि आउँछ।
असोज २६ गते अरूका लागि बुवाको मुख हेर्ने दिन हुनेछ। कसैले बुवाको निधारमा टीका लगाउनेछन्, मिठाई खुवाउनेछन्, बुवाको हातबाट आशीर्वाद लिनेछन् र बुवासँग बसेर तस्बिर खिच्नेछन्।
म भने सायद बुवाको तस्बिर अगाडि केहीबेर चुपचाप बस्नेछु। तस्बिर हेर्दै मनमनै भन्नेछु
“बुवा, तपाईंले मलाई जुन बाटोको नक्सा कोरेर काठमाडौं पठाउनुभएको थियो, म त्यो बाटो हिँड्दै आज यहाँसम्म आइपुगेँ। तपाईंले देखेको सपना पूरा गर्ने प्रयास गरिरहेको छु।
तर एउटा कुरा मनमा सधैँ खड्किरहनेछ। म सफल भएको आफ्नै आँखाले हेर्ने तपाईंको सपना भने अधुरै रह्यो।
बुवा, तपाईंले मलाई जीवन मात्र दिनुभएन, जीवन जिउने बाटो पनि देखाउनुभयो। दुःखसँग डराउनुभएन, संघर्षबाट भाग्नुभएन र मलाई पनि हार नमान्न सिकाउनुभयो।
आज म जहाँ छु, त्यहाँ मेरो मेहनत होला, तर त्यसको जगमा तपाईंको पसिना छ। मेरो सफलतामा मेरो संघर्ष होला, तर त्यो संघर्ष गर्ने हिम्मतको पछाडि तपाईं हुनुहुन्छ।
कहिलेकाहीँ कुनै निर्णय लिनुपर्दा मनले सोध्छ, ‘बुवा भएको भए के भन्नुहुन्थ्यो होला?’
कुनै खुसीको खबर आउँदा लाग्छ, ‘यो खबर बुवालाई सुनाउन पाए कति खुसी हुनुहुन्थ्यो होला।’
अब बुवाको मुख हेर्ने दिन आउँदा तपाईंको अनुहार त हेर्न सक्दिनँ। तपाईंको हात समातेर आशीर्वाद लिन सक्दिनँ। तपाईंलाई आफ्नो सफलताको कथा सुनाउन सक्दिनँ।
तर तपाईंले देखाउनुभएको बाटोमा इमानदारीपूर्वक हिँडिरहन सक्छु। तपाईंले देखेको सपना पूरा गर्न सक्दो प्रयास गरिरहन सक्छु। अनि तपाईंले ममा देख्नुभएको मान्छेलाई कहिल्यै मर्न दिन्नँ।
सायद यही नै तपाईंप्रतिको मेरो सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ।
बुवा, जहाँ हुनुहुन्छ, खुसी हुनुहोला।
यसपालि तपाईंको मुख हेर्ने दिनमा तपाईंको मुख हेर्न नसके पनि, तपाईंले मेरो लागि कोरेको त्यो बाटो भने फेरि एकपटक सम्झिनेछु।
र मनमनै भन्नेछु
‘बुवा, तपाईंले कोरेको बाटोमा छोरो अझै हिँडिरहेको छ। तपाईं हुनुहुन्न, तर तपाईंले देखाएको बाटो अझै मसँगै छ। तपाईंको हात छैन, तर तपाईंको आशीर्वाद अझै मेरो टाउकोमाथि छ। र तपाईं आँखाले देखिनुहुन्न, तर मेरो हरेक सफलताको पछाडि तपाईं नै हुनुहुन्छ।’”
लेखक रिमाल न्याय सेवामा कार्यरत छन्।