सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजेको चिहान घर...

२०८३ असोज ८, ०२:१३

दिनेश नगारीः म करिब ३/४ वर्षको हुँदो हुँ, मलाई अलिकति याद छ, मैले मेरा बाजेलाई चिन्न थालेको। उहाँ वि.सं. १९९० सालमा जन्मनुभएको रहेछ।

लामो शरीर, गोरो वर्ण, चुच्चो नाक थियो मेरा बाजेको। उहाँ हाम्रो घरको अभिभावक मात्रै हुनुहुन्नथ्यो, हाम्रो परिवारका लागि एक आदर्श व्यक्तित्व हुनुहुन्थ्यो। घरपरिवार तथा हाम्रो समुदायमा अलिकति समस्या आइपर्दा होस् वा कुनै भोजभतेर तथा अन्य पार्टी र सामुदायिक, सांस्कृतिक कार्यमा तत्कालीन समयमा बाजेको नामको निकै चर्चा हुने गर्थ्यो।

विवाह पार्टीका विभिन्न कार्यक्रमहरूमा उहाँले भाडाहा (पुराना शासकहरूको चर्चा र परिचर्चा गर्ने लोककथामा आधारित कथाहरू) वाचन गर्नुहुन्थ्यो। त्यो बेलाका समकालीन मान्छेहरू अहिले पनि बताउनुहुन्छ।

बाजेको अनुपस्थितिमा कुनै पनि दुःखका कार्य हुन् या सुखका कार्य, उहाँको उपस्थिति निकै अनिवार्य मानिन्थ्यो। उहाँको अनुपस्थितिमा कुनै पनि कार्यक्रमले पूर्णता पाउँदैनथे भनेर भन्नुहुन्थ्यो मेरो मावलीपट्टीका बाजे जोगी दमाई।

जोगी दमाई र मेरा बाजे साइनोले सम्धी–सम्धी हुन्, तर उहाँहरू साथी, दोस्त, अझ यार–दोस्तजस्तै हुनुहुन्थ्यो अरे। त्यो कुरा अहिले मेरो आमाका मामा, कोफिखेत निवासी श्री हिरा औजी बेलाबेला बताउनुहुन्छ।

मेरो बाजे र मावलीपट्टीका बाजे समकालीन हिसाबले हाम्रो परिवारका निकै आदर्श व्यक्तित्व हुन्। उनीहरूको जोडी खुबी सुहाएको थियो भनेर मैले धेरैपछि पनि सांस्कृतिक वा धार्मिक कार्यमा पछिल्ला पुस्ताका मान्छेहरूले बात मारेको सुनेको छु।

नामले दुवैजना एकै राशीका व्यक्तित्व हुन्। मेरो बाजेको नाम जगि नागारी हो, तर गाउँघरमा उहाँ जग्गो नागारीका नामले परिचित हुनुहुन्छ। म कक्षा ४ पढ्ने बेलाको कुरा हो, मेरो लागि र हाम्रो माइलोबुवाको छोरा शंकर दाइको लागि मात्रै उहाँले कोट सिलाइदिनुभएको थियो। हाम्रा तीन बुवाभाइका ९ जना छोरादाइभाइहरूमध्ये हामी दुई जनालाई मात्रै नयाँ कोट सिलाइदिएपछि अरू दाइभाइहरू रिसाएको याद अहिले पनि स्मृतिमै छ।

उहाँले सोच्नुभयो होला सायद, यी दुई नातिहरू अलिकति पढाइमा राम्रा हुन सक्छन् भनेर। हाम्रो पढाइ कस्तो भयो भनेर उहाँले हेर्न भने पाउनुभएन। तर त्यो बेलासम्म हाम्रो घरपरिवारबाट कसैले एस.एल.सी. पास गरेको पनि थिएन। पछि शंकर दाइले पास गर्नुभयो र उहाँले एस.एल.सी. पास गरिसकेको ५ वर्षपछि मैले पनि एस.एल.सी. पास गरेँ, त्यो पनि बाजेलाई सुनाउन बाँकी रह्यो।

जुन विद्यालयमा म कक्षा ४ देखि पढ्न सुरु गरेको थिएँ, त्यो विद्यालयमा मेरा बाजेले आफूसँग भएको त्यो बेलाको एउटा हार्मोनियम दिनुभएको थियो। त्यो बेला विद्यालय श्री गलिनाथ निम्न माध्यमिक विद्यालय, बडगाउँ थियो। पछि वि.सं. २०६६ सालमा माध्यमिक विद्यालय सञ्चालन गरियो र निम्न माध्यमिक विद्यालय हुँदा विद्यालयको प्रशासकीय नेतृत्व श्री गणेश दत्त शर्मा बडुज्यूले गरिराख्नुभएको थियो।

एकपटक जिल्लाको प्रतिनिधिसभाको निर्वाचनमा बैतडी जिल्ला निर्वाचन क्षेत्र ‘क’बाट श्री लोकेन्द्रबहादुर चन्दज्यू उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई बाजेले हाम्रो घरमा फूलमालाले सम्मान गरेको याद पनि अहिले ताजै छ। पूर्वप्रधानमन्त्री समेत रहेका लोकेन्द्रबहादुर चन्दज्यूसँग ठुलै लस्कर थियो। उहाँ घोडामा चढेर आउनुभएको थियो।

मेरो सम्झनामा रहेअनुसार उहाँको निर्वाचन चुनाव चिन्ह हलो थियो र उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन लडिरहनुभएको थियो। श्री लोकेन्द्रबहादुर चन्दज्यूको टोली हाम्रो घरमा पुग्नुपूर्व बाजे हुक्काचिलिममा तमाखु भरेर लिँदै हुनुहुन्थ्यो। त्यो याद सम्झनामा छ। गाउँका केही मानिसहरू आएर निर्वाचनको प्रचारप्रसारमा आएका केही मानिसहरूका विकास निर्माण लगायत समसामयिक कुराहरू सुने। त्यो बेला बालमस्तिष्कमा नेताहरूको वरिपरि गएर भाषण गर्न मिल्ने कुरा अलिअलि थाहा भएको थियो।

प्रचारप्रसारमा आएका मानिसहरू मोटामोटा हुने, जुत्ता लगाएका हुने, चस्मा लगाएका र झोला बोकेका, सायद लाहुरबाट आएका जस्तै थिए। समय बित्दै गयो, बाजेको अनुहारमा चाउरी पर्दै गइरहेका थिए। उहाँ बूढो हुनुभयो। बिरामीले पनि सताउन थाल्यो। लामो समय खोकी लागेर हैरान हुनुहुन्थ्यो।

कहिलेकाहीँ मलाई लाग्थ्यो मान्छेहरू किन बूढा हुन्छन्? किन रोगी हुन्छन्? किन मर्नुपर्छ? यो भगवान् पनि कति निष्ठुरी वा कति बैरी छ? मान्छेहरूलाई रोगी बनाउने, बूढो बनाउने अनि आफ्नो प्यारो बनाउने।

एकदिन म विद्यालयमै थिएँ। हाम्रो घरमा कालो दिन आएछ। हाम्रो घरको आकाशमा कालो बादल मडारिएछ, जसलाई हाम्रो घरको आदर्श व्यक्ति मानिरहेका थियौँ, तिनै मानिसलाई भगवान्ले आफ्नो बनाएछ। सधैँका लागि हामीबाट छुटाएर आफ्नो संसारमा लगेछ।

हामीलाई अभिभावकविहीन बनाएछ, हाम्रो आशा, भरोसालाई लगेछ र हाम्रो घरमा रुवाबासी सुरु गराइदिएछ। हाम्रो परिवारको एक असल र जिम्मेवार मान्छेलाई हामीबाट अलग गराइदिएछ र हाम्रो घरको एक सदस्य सधैँका लागि हाम्रै माझबाट बिना जानकारी अर्कै संसारमा लागेछ।

घरको त्यो रुवाबासी र कोलाहल, त्यो पीडा र दुःखान्त खबर मेरो विद्यालयसम्म आइपुगेको थियो।

त्यो समयमा हामीलाई पढाउने सरले मेरो कानसम्म खबर पुर्‍याउनुभयो। दौंखालाका सर भनेर चिनिनुहुने श्री गणेश बडू सरले, “तिम्रो बाजे त आज स्वर्गे हुनुभएछ, दिनेश,” भनेर भन्नुभयो। हामी हापटाइमभन्दा पछिल्लो पिरियड पढिरहेका थियौँ।

घरको त्यो खबरले मलाई छाँगाबाट खसेजस्तै बनाइदियो। मलाई रुन मात्रै आयो। मलाई मेरो संसार सकिएजस्तो लाग्यो, आफू टेकिएको धर्ती भास्सिएजस्तो लाग्यो। के गर्ने भनेर म निकै भावविह्वल भएँ। सरले सम्झाउँदै घर जाने हो कि भनेर सम्झाउनुभयो। तर घर जानेबारे पनि केही सोच्न सकिनँ, म अप्ठ्यारोमा परेँ।

सरले नै घर जाने भए जाऊ भनेर भनेपछि मसँगै पढ्ने एकजना मेरै गाउँले दाजु श्री अम्मर ऐर (हामी गाउँमा अम्मरेदा भनेर बोलाउँथ्यौँ) लाई मसँग पठाउनुभयो र म घर आएँ।

घरमा धेरैजना गाउँलेहरू उपस्थित हुनुहुन्थ्यो। मेरी आमा, ठूलीआमा र दिदीबहिनीहरू, दाइहरू निकै रोइरहेका थिए। बुवाहरू भने दाउरा चिर्ने तथा मसानघाटका लागि आवश्यक पर्ने सामग्रीको तयारी गर्दै हुनुहुन्थ्यो।

हाम्रा आफन्त, इष्टमित्र तथा अन्य व्यक्तिहरू आउने क्रम जारी थियो। हातमा धूप, कात्रो लिएर आउने मानिसहरूको भीड नै थियो। त्यही भीडमा म सोचिरहेको थिएँ बाजे सुत्नुमात्रै भएको हो। अब केही बेरमा उठ्नुहुन्छ र हामीसँग बोल्नुहुन्छ। तर उहाँ त कहिल्यै नबोल्ने गरी हामीबाट जानुभएको रहेछ।

एक रात घरमा नै लास राख्नुपर्ने भयो। वि.सं. २०५८ जेठ १० गते बाजेको मृत शरीरलाई घरमै राखेर त्यहाँ भेला भएका मानिसहरूसँग रातभरि जागा बस्यौँ। २०५८ उसै पनि दुःखद रह्यो। २०५८ साल जेठ १९ गते नेपालमा राजपरिवारको हत्याकाण्ड पनि भयो। देशले त्यो अनिष्ट व्यहोरिरहेको समयमा हामीले हाम्रो परिवारका अभिभावक गुमायौँ।

बिहान ९ बजेतिर बाजेको पार्थिव शरीरमा फूल, धूपबत्ती, फूलमाला लगायतका वस्तुहरू अर्पण गर्दै उहाँको मृतात्माको चिरशान्तिको कामना गर्दै चिहानघाटसम्म लैजाने शवयात्रामा सहभागी हुने लामै लाइन थियो। मलामीहरू कसैले दाउरा त कसैले बुर्की, कसैले बाजेको कपडा त कसैले पार्थिव शरीर नै बोकेर हिँड्नु परिरहेको थियो। घरमा रुवाबासी जोरजोरले चलिरहेको थियो।

स्थिति निकै दुःखद थियो। सायद त्यो बेला नरुने मानिस त्यता बिरलै थिए। सबैका आँखा रसाएका थिए। सबैका आँखाबाट आँसु झरिरहेका थिए। मानिसहरूले बाजेका विगतहरू सबै सम्झे होलान्। कतिपय मानिसहरू त उहाँसँगै खेलेका, रमाएका, सँगै खाएका, बसेका, नाचेका, हिँडेका मानिसहरू पनि आएका थिए होलान् त्यो भीडमा।

बाजेको मृत शरीरलाई बोकेर ऐरिगाउँबाट मलामीहरू बाजेको मृत शरीरको महाप्रस्थानको यात्राका लागि अघि बढिसकेका थिए। म पनि हातमा दाउरा बोक्दै हिँड्दै थिएँ। बीचबीचमा मरिस (बाजे हो, मामा हो, बुवा हो, दाइ हो भनेर बोल्नुपर्ने रहेछ, जसलाई स्थानीय भाषामा डाण भनिन्छ र यसको उद्देश्य गाउँवरिपरिका मानिसहरूलाई मृतमान्छेको बारेमा जानकारी गराउनु थियो) र बुर्की फाल्नुपर्ने रहेछ। त्यो चलन पनि मैले बाजे मरेदेखि नै थाहा पाएको हो। त्यसभन्दा पूर्व, म जन्मेपछि हाम्रो घरमा कसैले भगवान्को प्यारो हुनुपरेको थिएन।

हजुरआमाको मृत्यु म जन्मनुभन्दा अघि नै भएको थियो रे। सबैजना मलामीहरू तथा किरिया बसेका हाम्रा बुवाहरू (उहाँहरू सेतो कपडा बेरेर कपाल खौरेका थिए) चिहानघाटमा पुग्यौँ। मसानघाटमा हामी नातिहरूले पनि बाजेलाई काँध हाल्नुपर्ने (जो बाटोमा काँधमा बोक्न सक्दैनन्) मान्यता र चलन रहेछ। हामी साना मान्छेहरूले बाजेको मृत शरीरलाई मेलुमुढा घाटमा रहेको हाम्रो मसानमा अन्तिम दाहसंस्कारका लागि राखेका थियौँ। बाजेको २०५८ जेठ ११ गते अन्तिम दाहसंस्कार सकेर मानिसहरू आफ्नो घर जानुभयो र अलिक बढी मानिसहरू हाम्रै घरसम्म आउनुभयो, अर्थात् किरिया बसेको घरसम्म आउनुभयो।

२०८३ असोज महिनाको पहिलो शनिबार ३ गते काम विशेषले म त्यहीँ ठाउँमा पुगेँ, जुन ठाउँमा हामीले २५ वर्षअघि बाजेलाई छोडेर आएका थियौँ, बाजेको स्वर्गलोकको यात्रा र चिरशान्तिको कामना गर्दै।

हाम्रो परिवारका मृत मानिसहरूको अन्तिम दाहसंस्कार हुने स्थान मेलामुढा चिहानघाट हुँदै पुर्चौडी नगरपालिकाको वडा नं. ६, भूमिराजसम्म जाने कच्ची सडक काटिएको छ। बर्खायामबाहेक त्यो बाटोमा साना गाडी, ट्र्याक्टर र बाइकहरू यताउता गर्छन्।

कामको सिलसिलामा जब म त्यो दिन मेलामुढा घाटमा पुगेँ, मेरो दिमागमा एकाएक त्यही पुरानो कुराको याद आयो। एउटै कुराले मन छोयो।

मैले २०५८ जेठ एघार गते सम्झिएँ। अनि सम्झिएँ त्यो दिन, बाजेलाई त्यहीँ छोडेर, जलाएर जाने मानिसहरूको त्यो विरहपूर्ण अवस्था, अनि त्यो दुःखद परिस्थिति र आँसु सम्झिएँ।

म कल्पनामा निकै विभोर भएँ, म भावुक भएको थिएँ। मैले मेरा बाजेलाई आज पनि बोलाउन सक्छु त? भन्ने प्रश्न मेरो मनमा उठ्यो। के म मेरा बाजेलाई “म तपाईंको नाति दिनेश हुँ” भनेर अहिले भन्न सक्छु त? के मैले बोलेको, मैले चिच्याएर “मेरा बाजे हजुर!” भनेको बाजेले सुन्लान् त?

के बाजेलाई म त्यो बाटोमा हिँडेको जानकारी होला त?

म बाजेलाई भन्न चाहन्थेँ बाजे, एकपटक तपाईंले मसँग बोल्नुपर्छ। हजुर र मैले केही कुरा गर्न बाँकी छन्। हजुरको त्यो बोली नसुनेको २५ वर्ष भइसक्यो।

तर त्यहाँनिर मेरो अगाडि त्यही पानी, त्यही खोलाको ढुंगा र वरिपरि रहेका रुखहरूबाहेक कोही थिएनन्। वरिपरि धान काट्ने केही मानिसहरूबाहेक त्यहाँ कोही आउनुभएन। बाजे पनि बोल्नुभएन, त्यो चिहानघाट पनि बोलेन। त्यो पानी पनि बोलेन, खोला र ढुंगा पनि बोलेनन्।

बाजेसम्म खबर पुर्‍याउने अहिले कुनै त्यस्तो साधन छैन। केवल एउटा रैबार पुर्‍याउनु थियो।

बाजे, हजुरलाई कस्तो छ? हामी हजुरलाई धेरै सम्झिरहेका छौँ। आपतविपत पर्दा कहिलेकाहीँ सपनामा भए पनि आशीर्वाद र भरोसा दिनु।

हजुरको कमी हाम्रो परिवारमा सधैँ रहेको छ, सधैँ रहिरहनेछ।

हार्दिक श्रद्धाञ्जली, बाजे...

कमेन्ट लोड गर्नुस