कर, लेखाविधि र डिजिटल क्षमताबारे कैलालीका मदिरा व्यवसायीलाई प्रशिक्षण
धनगढीः धनगढीमा मदिरा व्यवसायी संघ कैलालीको आयोजनामा कर, लेखाविधि तथा डिजिटल क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य पुष्करराज भाट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत भीमप्रसाद काफ्ले, मदिरा व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष प्रेमबहादुर धामी र चार्टर्ड एकाउन्टेन्ट टेकराज पनेरु अतिथिका रूपमा सहभागी थिए।
प्रशिक्षणमा व्यवसाय सञ्चालन, कर प्रणाली तथा करदाताले पालना गर्नुपर्ने विभिन्न कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो। आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत तर्कराज जैसीले व्यवसाय दर्ता प्रक्रिया, मूल्य अभिवृद्धि कर तथा कर विवरण पेस गर्ने प्रक्रियाबारे जानकारी गराए।
उनले कर छुट तथा सहुलियतका नयाँ व्यवस्था, करदाता प्रोत्साहन तथा उपहार कार्यक्रम र डिजिटल कर प्रणालीबारे समेत जानकारी दिएका थिए।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट टेकराज पनेरुले ‘बिक्री देखावटी हो, नाफा भ्रम हो, नगद यथार्थ हो’ विषयमा कार्यपत्र प्रस्तुत गरे। उनले कागजमा नाफा देखिए पनि नगद सञ्चिति र उचित तरलता व्यवस्थापन नहुँदा ठूला कम्पनीसमेत आर्थिक संकटमा पर्न सक्ने बताए।
बिक्री र नाफाले मात्र व्यवसायको वास्तविक अवस्था नदेखाउने उल्लेख गर्दै उनले उधारो असुली, मौज्दात व्यवस्थापन र बलियो आन्तरिक लेखापरीक्षण प्रणालीमा ध्यान दिन व्यवसायीलाई सुझाव दिए।
संघको आफ्नै वेबसाइट सञ्चालनमा
कार्यक्रममा मदिरा व्यवसायी संघ कैलालीको आफ्नै वेबसाइटसमेत सञ्चालनमा ल्याइएको छ। नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य पुष्करराज भाट, निवर्तमान अध्यक्ष प्रेमबहादुर धामी र संघका अध्यक्ष कमल बमले संयुक्त रूपमा दीप प्रज्वलन गरी वेबसाइट शुभारम्भ गरेका हुन्।
संघका अध्यक्ष बमका अनुसार वेबसाइटमा संघका संस्थापकदेखि हालसम्मका कार्यसमितिको विवरण, कम्पनी प्रतिनिधिको जानकारी, मूल्यसूची, सदस्यहरूको विवरण तथा सदस्यका गुनासा राख्ने व्यवस्था गरिएको छ।
वेबसाइटले सदस्य व्यवसायीलाई व्यवसाय सञ्चालन तथा संघसँग सम्बन्धित सूचना प्राप्त गर्न सहज हुने उनले बताए।
व्यवसाय व्यवस्थापनको प्रशिक्षण
कार्यक्रमको तेस्रो सत्रमा सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी प्रमाणीकरण प्राप्त सोसियर कम्पनीका प्रतिनिधिले डिजिटल व्यवसाय व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका थिए।
प्रशिक्षणमा एकाउन्टिङ, स्टक व्यवस्थापन तथा बिलिङसम्बन्धी सफ्टवेयर प्रयोग गरी व्यवसायलाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्ने तरिकाबारे जानकारी दिइएको थियो।
कम्पनीका प्रतिनिधि अविनाश थापा, निरज वैद्य र कुन्दन मिश्रले सोसियरबाट व्यवसायहरूलाई ग्राहक व्यवस्थापन, सामाजिक सञ्जाल व्यवस्थापन, लेखा व्यवस्थापन, स्टक तथा बिलिङ, आपूर्तिकर्ता व्यवस्थापन, प्रतिवेदन, स्वचालन, वेबसाइट, अर्डर व्यवस्थापन, सामूहिक एसएमएस तथा मानव संसाधन व्यवस्थापनलगायतका काम मोबाइलबाटै गर्न सकिने जानकारी दिएका थिए।
कार्यक्रममा मदिरा व्यवसायी संघ कैलालीका सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रशिक्षणले व्यवसायीलाई कर प्रणाली, व्यवसाय दर्ता, कर विवरण पेस गर्ने प्रक्रिया, कर अनुपालन तथा डिजिटल कर सेवासम्बन्धी व्यावहारिक जानकारी प्राप्त गर्न सहयोग पुगेको छ।