दशरथचन्द विश्वविद्यालयको ऐन संशोधन प्रक्रिया अगाडि बढाउन छलफल
धनगढीः कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन संशोधनको प्रक्रिया अघि बढाउने विषयमा सरकारले छलफल अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा गेटास्थित विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्ने विषयले प्राथमिकता पाएको हो।
विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको जनाइएको हो। डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार ऐन संशोधन गर्न लागिएको हो। विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाइन पनि सहमतिमा उल्लेख छ।
आजको बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीलगायत प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका अधिकारी सहभागी थिए। बैठकमा चिकित्सा शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयन, नीतिगत समस्या समाधान तथा सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो।
शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवालले सम्झौता कार्यान्वयनसँगै चिकित्सा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।