कैलालीमा मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ, पाँच थान मोबाइल बरामद
धनगढीः कैलालीको टीकापुरमा मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र १९ वर्षीय धिरेन्द्र शाही रहेका छन्।
विभिन्न मितिमा मोबाइल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन परेपछि प्रहरीले खोजतलास थालेको थियो। सोही क्रममा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।