सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १६ खेल मैदानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने

२०८३ कार्तिक ११, ०७:४६ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले  सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ जस्पालको खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान, वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदान, वडा नम्बर ७ को पटेलामा रहेको खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालयको खेल मैदान, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालयको खेल मैदान, वडा नम्बर १२ को मनकामना युवा क्लबको खेल मैदान, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदान, वडा नम्बर १४ को टाउन प्लानिङको खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान तथा वडा नम्बर १९ को फूलबारी माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ।


स्थानीय तहमा फुटबलको आधार बलियो बनाउने, विद्यालय तथा सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिमा उपयोग गर्ने र बालबालिका तथा युवालाई फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। विगत २ वर्षदेखी धनगढी उपमहानगरपालिकाले ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्दै आएको छ

कमेन्ट लोड गर्नुस