सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी आयोजना बन्यो, धारामा आएन पानी

२०८३ कार्तिक १६, ११:१० लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका स्थानीय दुई सातादेखि शुद्ध खानेपानीबाट वञ्चित भएका छन्। खानेपानीको ट्यांकी फुटेपछि घरघरमा जडान गरिएका धारामा पानी आउन बन्द भएको हो। लामो समयदेखि आपूर्ति अवरुद्ध हुँदा स्थानीय नल्काको पानी प्रयोग गर्न बाध्य भएका छन्।

स्थानीयका अनुसार खानेपानी आयोजना निर्माण भए पनि पाइप फुट्ने र ट्यांकीमा समस्या आउने क्रम रोकिएको छैन। पटकपटक समस्या दोहोरिँदा पनि मर्मत तथा नियमित खानेपानी आपूर्तिमा सम्बन्धित निकायले चासो नदिएको उनीहरूको गुनासो छ।

स्थानीय दुर्गाबहादुर भण्डारीका अनुसार खानेपानीका धारा जडान गरिए पनि कमसल सामग्री प्रयोग गरिएकाले पाइपहरू बेलाबेलामा फुट्ने गरेका छन्। समस्या दोहोरिँदा पनि खानेपानी समितिले आवश्यक मर्मत र नियमित आपूर्तिका लागि पहल नगरेको उनको भनाइ छ।

धारामा पानी आउन छाडेपछि स्थानीय लक्ष्मा अधिकारी नल्काको पानी प्रयोग गर्न बाध्य छन्। तर, उनको घरमा रहेको नल्कासमेत बिग्रिएको छ भने पानी सुक्ने समस्याले दैनिक कामकाजमा समेत कठिनाइ भइरहेको छ। धाराको पानी प्रयोग गर्ने बानी परेकी उनलाई वैकल्पिक स्रोतको भर पर्नुपर्दा थप सास्ती भएको छ।

स्थानीय कलावती डौंण्याले पनि दुई सातादेखि धारामा पानी नआउँदा नल्काको पानी पिउनुपरेको बताइन्। केही समयअघिसम्म सहज रूपमा पानी वितरण भइरहेको भए पनि ट्यांकीमा समस्या आएपछि खानेपानीको सुविधा गुमेको उनको भनाइ छ।

त्यस्तै, स्थानीय सोभी डौंण्याले सडक निर्माणलगायतका कारण पाइप फुट्ने समस्या देखिए पनि सम्बन्धित निकायले समयमै मर्मतमा चासो नदिने गरेको बताइन्। अहिले नल्काको पानी प्रयोग गर्नुपरेको भन्दै उनले त्यसको गुणस्तरप्रति चिन्ता व्यक्त गरिन्। अशुद्ध पानी प्रयोग गर्नुपर्दा स्वास्थ्यमा समेत समस्या आउन सक्ने उनको भनाइ छ।

यता, चौकीडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर भाटले खानेपानी आयोजना गोदावरी नगरपालिकामार्फत निर्माण गरिएको भए पनि ट्यांकी फुटेपछि समस्या समाधानका लागि आवश्यक पहल नभएको बताए। निर्माण कम्पनीले हालसम्म आयोजना नगरपालिकालाई हस्तान्तरण नगरेको र नगरपालिकाले पनि उपभोक्ता समितिलाई हस्तान्तरण नगरेकाले आयोजना सञ्चालन तथा व्यवस्थापनमा अन्योल सिर्जना भएको उनको दाबी छ।

आयोजना हस्तान्तरणको प्रक्रिया अघि नबढ्दा समस्या समाधान गर्न कठिनाइ भइरहेको अध्यक्ष भाटले बताए। फुटेको ट्यांकी मर्मत गरिए पनि खानेपानी वितरण नियमित हुन नसकेको उनको भनाइ छ।

खानेपानी आयोजना निर्माण सम्पन्न भए पनि सञ्चालन, व्यवस्थापन र हस्तान्तरणको अन्योलले चौकीडाँडाका स्थानीय आधारभूत सुविधाबाटै वञ्चित हुनुपरेको छ। आयोजना कसले सञ्चालन गर्ने र मर्मतको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट नहुँदा त्यसको प्रत्यक्ष मार स्थानीयले खेपिरहेका छन्।

स्थानीयले सम्बन्धित निकायले तत्काल जिम्मेवारी लिएर खानेपानी आपूर्ति नियमित गर्न माग गरेका छन्। घरघरमा जडान गरिएका धारामा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन उनीहरूको आग्रह छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस