उदाउँदो सूर्यलाई अघ्र्य दिएर आज छठ सम्पन्न गरिँदै
काठमाडौँ: सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अघ्र्य दिइँदै छ।
यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक समापन हुँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अघ्र्य अर्पण गरेका थिए । हिजो साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गर्दैछन्।
यतिबेला छठ मनाइरहेका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा अघ्र्य दिन व्रतालु तथा श्रद्धालुहरूको ठुलो घुइँचो लागेको छ। छठ पर्वका अवसरमा तराई–मधेससँगै काठमाडौँ उपत्यका र देशका अन्य विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ।
यसैबिच, सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ। यसअघि छठ पर्वको मुख्य दिन (षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने दिन) मात्र बिदा दिँदै आएको सरकारले पहिलो पटक आज उदाउँदो सूर्यलाई अघ्र्य दिने दिन पनि सार्वजनिक बिदा दिएको हो।