अपिहिमाल गाउँपालिकाको कार्यालयमा पहिलोपटक पुग्यो जिप, स्थानीयमा खुसीयाली
धनगढीः दार्चुलाको अपिहिमाल गाउँपालिकाको कार्यालयसम्म पहिलोपटक जिप पुगेको छ।
गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ खण्डेश्वरीसम्म सडक विस्तार भएपछि बुधबार पहिलोपटक जिप पुगेको हो। यसअघि मकरीगाडसम्म मात्रै जिप पुग्थे। मकरीगाडबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले मकरीगाडदेखि खण्डेश्वरीसम्म करिब ९ किलोमिटर सडक विस्तार भएपछि गाउँपालिकाको कार्यालयसम्मै गाडी पुग्न थालेका छन्।
गाउँपालिकाको जिप कार्यालय परिसरमा पुगेपछि स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले खुसीयाली मनाएका छन्। जिपलाई फूलमाला र बेलुनले सजाएर एकअर्कालाई बधाई दिँदै खुसी साटासाट गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए। अध्यक्ष बोहराले मकरीगाडदेखि काफलधारसम्म संघीय सरकारको बजेटबाट सडक निर्माण गरिएको बताए। काफलधारदेखि गाउँपालिकाको कार्यालयसम्म भने गाउँपालिकाले आफ्नै लगानीमा सडक विस्तार गरेको बोहराले जानकारी दिए।
‘गाउँपालिकाको कार्यालयसम्म जिप पुग्दा हामी निकै खुसी छौँ। अब खाद्यान्न ढुवानी गर्न, निर्माण सामग्री ल्याउन र दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज हुनेछ,’ अध्यक्ष बोहराले भने। सडक पुगेपछि बिरामीलाई उपचारका लागि लैजान तथा आवतजावत गर्न पनि सहज हुने अपेक्षा गरिएको छ। यसअघि पैदल हिँडेर पुग्नुपर्ने गाउँपालिकाको केन्द्रसम्म अब जिपमै पुग्न सकिने भएको छ।
सडक विस्तारले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ। अब पर्यटकहरू जिपमै गाउँपालिकाको केन्द्रसम्म पुगेर त्यहाँबाट नौपाटा होमस्टे लगायतका पर्यटकीय गन्तव्यमा जान सक्नेछन्। गाउँपालिकाले अब खण्डेश्वरी गाउँ बजार हुँदै वडा नम्बर ३ सम्म सडक विस्तार गर्ने लक्ष्य राखेको अध्यक्ष बोहराले बताए। ‘अब क्रमशः अन्य बस्तीमा पनि सडक पु¥याउने लक्ष्य छ। त्यसका लागि प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने।
दुर्गम भौगोलिक अवस्थाका कारण लामो समयदेखि यातायातको सहज पहुँचबाट टाढा रहेको अपिहिमालमा गाउँपालिकाको कार्यालयसम्मै जिप पुग्नु स्थानीयका लागि खुसीको विषय बनेको छ। सडक विस्तारसँगै दैनिक जनजीवन सहज हुने र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय रुकमा ठेकरे जानकारी दिइन्।