सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याग्दीमा हावाहुरीले झार्‍यो सुन्तला, किसानको लाखौँको आम्दानी गुम्ने

२०८३ मंसिर १०, ०२:५० रासस

म्याग्दी:टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका किसान चिन्तित भएका छन् ।

भुरुङ्ग–तातोपानीको चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका बगैँचामा मंगलबारको हावाहुरीले सुन्तला झारेर भुइँभरि बनाएपछि किसानको वर्षभरको मेहनत खेर गएको छ ।

फगामका कृषक दुर्गादत्त सुवेदीले आफ्नो टोलबाट गत वर्ष २५ लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा हावाहुरीले झारेपछि यस वर्ष एक लाख रुपैयाँको पनि बिक्री गर्न नसकिने अवस्था बनाएको दुखेसो गरे । “यसपालि दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अनुमान गर्दै उत्साहित भएका थियौँ,” उनले भने, “हावाहुरीले बोटबाट दाना झार्नुका साथै हाँगा चुडाएको छ । भुइँमा झरेका दाना सबै फुटेका छन् ।”

अन्नपूर्ण गाउँपालिकाका कृषि शाखाका अधिकृत योजना अधिकारीले हावाहुरीले सुन्तला खेतीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए । गत वर्ष करिब चार करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको अन्नपूर्ण गाउँपालिकामा यसपालि हावाहुरीले तीनवटा वडामा पुर्‍याएको क्षतिका कारण उत्पादन घट्ने निश्चित छ ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो ।

उक्त हावाहुरीले अन्नपूर्ण गाउँपालिकाको ३ नम्बर वडामा पर्ने काभ्रे, दाना र फगाममा करिब २० वटा घरको छाना उडाएको वडा अध्यक्ष रमेश पुर्जाले बताए । “छाना उडाएका गोठको सङ्ख्या गनेर साध्य छैन,” उनले भने, “पक्की भवन रहेको दानास्थित ज्ञानप्रकाश माविको झ्याल र स्वास्थ्य चौकीको भवनको छाना पनि उडाएको छ ।”

भालेबासस्थित कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताए ।

भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालय, सुरक्षा बेसक्याम्पका साथै सुकबहादुर रोका, रनबहादुर रोका, देउबहादुर खड्का, रविन्द्र खड्का, तुलाराम बुढा र कुमार खड्काको घर तथा नारच्याङमा महलबहादुर गर्बुजाको घरको छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर र भुस्केट मेलामा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्टसमेत उडाएको छ ।

भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले हावाहुरीले रुख ढलाएपछि अवरुद्ध बनेको सडक र विद्युत् सेवा मर्मत गरी बुधबार साँझदेखि सञ्चालनमा ल्याएको बताए । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधि, कर्मचारी र प्राविधिकको टोली परिचालन गरेर क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।

घरबारविहीनलाई बसोबास, पुनर्निर्माण र कृषकलाई राहतका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने अध्यक्ष पुनले बताए । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति व्यहोरेको अन्नपूर्ण गाउँपालिकालाई हावाहुरीले पुनः दुःख दिएको छ ।

कमेन्ट लोड गर्नुस