बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते
बाजुराः बाजुरामा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रवार साँझ ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४५ वर्षका धनरुप शाही र अन्दाजी ३५ वर्षका धर्म शाहीको घटनास्थल मै मृत्यु भएको छ।
घाइतेमध्ये गम्भीर अवस्थाकी रामशरा देवी सिंहको राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भाटले बताए। घाइते हुनेमा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ बस्ने अन्दाजी २१ वर्षका नबिन बोहरा, बाजुरा जगन्नाथ–३ मनिकाँडा बस्ने अन्दाजी ४० वर्षीय बिउरा ओड, अन्दाजी २२ वर्षीय सङ्गीता शाही र अन्दाजी ४५ वर्षीय सिद्धा ओड रहेका छन्। घाइतेको कोल्टी अस्पतालमा उपचार भइरहेको उनले बताए।
शुक्रबार साँझ साढे ६ बजेको समयमा जगन्नाथ गाउँपालिका–३ दाउणा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको थियो। पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।