सुदूर नेपाललाई विश्वसँग जोड्दै

गहुँ छर्ने बेला किसानले पाएनन् मल, खेती प्रभावित हुने चिन्ता

२०८३ मंसिर १२, ०८:१४ लक्ष्मण ढुङ्गाल

धनगढीः कञ्चनपुरको पिपरियाकी ठग्गु रानाको परिवारसँग पाँच बिघा जमिन छ।

तर, पर्याप्त मल नपाउँदा उनले सबै जमिनमा चाहेजस्तो खेती गर्न सकेकी छैनन्। मल अभावकै कारण आधा जमिनमा उखु र बाँकीमा मसुरो तथा तोरी खेती गर्नुपरेको उनी बताउँछिन्। गहुँ खेतीसमेत केही जमिनमा मात्र सीमित गर्नुपरेको उनको भनाइ छ।

कञ्चनपुरकै फुलसोहत्तर रानाले पनि हरेक वर्ष मल अभावको समस्या झेल्दै आएकी छन्। मल लिन सहकारीमा दिनभर लाइन बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन्। गतवर्ष धान खेतीका लागि मल नपाएकी उनले यस वर्ष गहुँ खेतीका लागि आधा कठ्ठा जमिनलाई पुग्ने मात्र मल पाएकी छन्। आफ्नो र अधियाँमा लिएको गरी एक बिघा जमिनमा खेती गर्दै आएकी उनलाई आवश्यकताअनुसार मल नपाउँदा उत्पादन प्रभावित हुने चिन्ता छ।

किसानले खेतीको मुख्य समयमा मल नपाइरहेका बेला स्थानीय तहले पनि पहल गर्न सकेका छैनन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी सङ्घीय सरकारको हो। सरकारले मल आपूर्ति गर्ने कम्पनीहरूलाई आवश्यकताअनुसार कोटा उपलब्ध नगराउँदा किसानले समस्या भोग्नुपरेको उनको भनाइ छ। मलको आपूर्ति तथा वितरणमा स्थानीय तहको प्रत्यक्ष भूमिका नहुँदा किसानको गुनासो भने स्थानीय सरकारसम्म आइपुग्ने गरेको उनले बताए।

नगरपालिकाले माटो परीक्षणसमेत गरिरहेको र त्यसको नतिजा तथा आवश्यकताका आधारमा किसानलाई मल वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल आपूर्ति गर्दै आएका छन्। तर, यसवर्ष निर्धारित कोटा न्यून भएकाले किसानको मागअनुसार मल उपलब्ध गराउन नसकिएको दुवै कम्पनीको दाबी छ।

आपूर्ति कम हुँदा सहकारीमा मल लिन किसानको चाप बढेको छ भने सबै किसानले आवश्यकताअनुसार मल पाउन सकेका छैनन्। गहुँ छर्ने समय सकिन लाग्दासमेत मलको अभाव समाधान नहुँदा किसानको उत्पादन र आम्दानी दुवै प्रभावित हुने जोखिम बढेको छ। खेतीपातीको मुख्य समयमा मल नपाउने समस्या हरेक वर्ष दोहोरिए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस