सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दलित, जनजाति र खस–आर्य प्रमाणीकरणको सिफारिस अब अनलाइनबाटै

२०८३ मंसिर १२, ०४:३७ खबर संवाददाता

बैतडी: दलित, आदिवासी–जनजाति तथा खस–आर्य समुदायको प्रमाणीकरणका लागि अब जिल्ला प्रशासन कार्यालय बैतडी धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले यी समुदायको प्रमाणीकरणसम्बन्धी सिफारिस सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो।
भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई सदरमुकाम पुग्नुपर्ने झन्झटबाट मुक्त गर्दै समय र खर्च बचत गर्ने उद्देश्यले ई–गभर्नेन्स अवधारणाअनुसार अनलाइन सेवा सुरु गरिएको कार्यालयले जनाएको छ। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आवश्यक कागजात घरबाटै पठाएर सिफारिस लिन सक्नेछन्।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनाअनुसार आवश्यक कागजातसहित इमेलमार्फत निवेदन पठाएपछि एक घण्टाभित्र सिफारिस पत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाइनेछ।
कार्यालयका अनुसार प्रमाणीकरणका लागि नेपाली नागरिकता प्रमाणपत्रमा सम्बन्धित थर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ। दलित समुदायको हकमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजातिको हकमा आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ तथा खस–आर्य समुदायको हकमा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका थरका आधारमा प्रमाणीकरण गरिनेछ।
अनलाइन सेवा लिन सम्बन्धित वडा कार्यालयबाट स्पष्ट व्यहोरा खुलाइएको प्रमाणित सिफारिस पत्र, आवश्यक विवरणसहितको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रंगीन स्क्यान प्रति र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ। सम्भव भएसम्म इमेल ठेगानासमेत उल्लेख गर्न कार्यालयले आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुका अनुसार पहिलो चरणमा यी तीन समुदायको प्रमाणीकरणसम्बन्धी सिफारिस सेवा अनलाइनबाट उपलब्ध गराइएको हो। आगामी दिनमा अन्य सेवासमेत अनलाइन माध्यमबाट विस्तार गर्ने योजना रहेको उनले बताए। उनका अनुसार आवश्यक कागजात ह्वाट्सएपमार्फत पनि पठाउन सकिनेछ।
सेवासम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारु, नायब सुब्बा अनिल घरडी र कार्यालय सहयोगी परमानन्द ऐरसँग सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।
अनलाइन सेवा सुरु भएसँगै सामान्य सिफारिसका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता कम हुने र नागरिकको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस