कैलालीमा एसपी नरेन्द्र चन्दको कस्तो रह्यो १५ महिने कार्यकाल ?
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीबाट हालै सरुवा भएका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र चन्दले आफ्नो १५ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। २०८२ भदौ १५ गते कैलाली आएका चन्दले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा र प्रहरी सेवा प्रवाहसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार चन्दको कार्यकालमा कैलालीमा विभिन्न प्रकृतिका दुई हजार ६२२ मुद्दा दर्ता भएका छन्। तीमध्ये संगठित तथा आर्थिक अपराधका ४६५, ज्यानसम्बन्धी ३९८, आत्महत्यासम्बन्धी ३८७, सामाजिक अपराधका ३५०, महिला तथा बालबालिकासम्बन्धी २३१, सवारी ज्यानका १०३ र चोरीका ८९ मुद्दा छन्। अन्य प्रकृतिका ५९९ मुद्दा दर्ता भएका छन्।
यस अवधिमा दुई हजार ६५० प्रतिवादी पक्राउ परेका छन् भने ३६७ जना अझै फरार छन्। सार्वजनिक चासोका १५१ अधुरा मुद्दामध्ये ५५ वटा फछ्र्यौट गरिएको छ। फैसला कार्यान्वयनतर्फ ९५४ जना पक्राउ गरी २९० वर्ष दुई महिना २२ दिन कैद तथा दुई करोड ६० लाख ४ हजार ३२७ रुपैयाँ जरिवाना कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा फरार रहेका ४७० प्रतिवादीसमेत पक्राउ गरिएको छ।
लागूऔषध नियन्त्रणतर्फ ५६३ मुद्दा दर्ता गरी ८५९ पुरुष र ३० महिलासहित ८८९ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूबाट ४ हजार ७५४ ट्याबलेट, १ किलो १७१ ग्रामभन्दा बढी खैरो हेरोइन, २ किलो १८८ ग्रामभन्दा बढी गाँजा र ३२ किलो ५६८ ग्रामभन्दा बढी चरेस बरामद गरेको छ। हराएका एक हजार २५१ जनामध्ये एक हजार १७५ जना फेला परेका छन् भने घरेलु हिंसाका ६७६ उजुरीमध्ये ५७८ वटामा मिलापत्र गराइएको छ।
गम्भीर अपराध अनुसन्धानमा सफलता
चन्दले आफ्नो कार्यकालमा भएका चर्चित तथा सफल अनुसन्धानका घटनालाई पनि प्रगति विवरणमा समेटेका छन्। प्रहरीका अनुसार प्राविधिक विश्लेषण, कल डिटेल, सीसीटीभी फुटेज र सूचनाको प्रयोग गरी विभिन्न गम्भीर अपराधको अनुसन्धान टुंग्याइएको छ।
२०८२ असोज २४ गते घोडाघोडी नगरपालिका–८ जडैमा केशरसिंह बुढाको हँसिया प्रहार गरी घाँटी काटेर हत्या गरिएको घटनामा प्रहरीले तत्कालै दुई जनालाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा अन्य सात जनाको संलग्नता खुलेपछि नौ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो।
त्यस्तै, २०८२ फागुन २३ गते धनगढीकी सरस्वती अवस्थीको हत्या घटनामा संलग्न उनका श्रीमान् डम्बरराज जोशीलाई सीसीटीभी फुटेजको विश्लेषण र बाँके प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको थियो। उनलाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
२०८३ साउन २१ गते लम्कीचुहा नगरपालिका–४ का दीपक सुनारको हत्या प्रकरणमा पनि प्रहरीले कल डिटेल र प्रमाण विश्लेषणका आधारमा अनुसन्धान अघि बढाएको थियो। उक्त घटनामा मृतककी श्रीमती यमुना सुनार र दुर्योधन सुवर्णकारसहित पाँच जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइएको छ। यसैगरी, २०८३ असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय बालक तनुज चौधरी मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राजस्व संकलनदेखि नागरिक सेवासम्म
राजस्व संकलन र अवैध गतिविधि नियन्त्रणतर्फ पनि प्रहरीले विभिन्न कारबाही गरेको विवरण सार्वजनिक गरेको छ। अवैध भन्सार तथा राजस्व छली नियन्त्रणका क्रममा ६२ जना पक्राउ परेका छन्। उनीहरूबाट ११ करोड दुई लाख ९८ हजार ६०४ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।
सवारी नियम उल्लंघन गर्ने २२ हजार ७३२ सवारीसाधनलाई कारबाही गर्दा एक करोड ८७ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा जिल्लामा एक हजार २३१ सवारी दुर्घटना हुँदा ११४ जनाको मृत्यु र १एक हजार ७५२ जना घाइते भएका छन्।
प्रहरी सेवालाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउन पेपरलेस अवधारणा, डिजिटल अभिलेख, नागरिक सहजकर्ता तथा मुद्दाको म्याद थपमा भर्चुअल माध्यमको प्रयोगलगायतका कामसमेत गरिएको विवरणमा उल्लेख छ।