सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन दुख्छ बच्चाहरुको टाउको ?

२०७६ मंसिर ८, १०:०७

धेरै मोबाइल, ल्यापटप, कम्प्युटर र टिभी एकोहोरो हेर्ने बानी छ ? जंकफुड जस्तै चाउचाउ, कुरमुरे, चिप्स जस्ता प्याकेटका खानेकुरा खाने बानी छ ? स्कुल छुटेपछि पानीपुरी र चटपटे खाने बानी छ ? धेरै रिस उठ्छ ? खानामा सागसब्जी र फलफूल नखाने बानी छ ?

राति ढिला खाना खाने र ढिला सुत्ने बानी छ ? पानी कत्तिको पिउने बानी छ ? अमिलो, चिल्लो र पिरो कत्तिको मन पर्छ ? कोल्ड ड्रिंक्स र तयारी पेयपदार्थका साथै चिया, कफी कत्तिको खाने बानी छ ? गृहकार्य र पढाइकोे कत्तिको तनाव छ। यस्तै अनुचित खाना, अनुचित विहार र गलत विचारका कारण टाउको दुख्छ।

के गर्ने ?
– बिहान सबेरै उठ्ने र बेलुकी समयमै सुत्ने।
– बेलुकी ढिला खाना खाने बानी नगर्ने। बेलुकी ८ बजेभन्दा अगाडि खाना खाइसक्ने।
– हरेक बिहान १ घण्टा व्यायाम अथवा मर्निङवाक गर्ने। टाउको दुख्दा योग, व्यायाम र प्राणायामले धेरै लाभ गर्छ।
– हिँड्दा, बस्दा, उभिँदा, सुत्दा जहिले पनि ढाड सिधा राख्ने। टाउको निहुराएर नबस्ने।
– शारीरिक वेगहरू जस्तै हाछ्यूँ, खोकी, पिसाब नरोक्ने।
– जहिले पनि उचित विचार गर्ने। लोभ, मोह, ईष्र्या, रिस जस्ता अनुचित विचारबाट बच्ने।
– आफूसँग भएका चिज बाँडेर खाने। लिनेभन्दा दिने भाव मनमा राख्ने जसले मन हलुको गराउँछ।

के नखाने ?
–  मैदावाट बनेका परिकार नखाने।
–    जंकफुड, नुन बढी भएका खानाहरू जस्तै चाउचाउ, चिप्स, कुरकुरे जस्ता खानेकुरा नखाने।
–    माछामासु र अन्डाको बढी प्रयोग नगर्ने। यी चीज खाँदा सागसब्जी र फलफूल पनि अनिवार्य खाने। टाउको दुख्दा यी खानेकुरा नखाने। यी खानेकुराले दुखाइ बढाउँछ।

–    दूध, दूधबाट र चिनीबाट बनेका परिकार जस्तै चकलेट र मिठाइहरू नखाने।
–    घिउ, बढी चिल्लो, बढी मसला, गरम मसला, पिरो नखाने। साथै गोलभेडा, लसुनपोटी र अमिला अचार नखाने। गालेको र बोत्तलमा राखिएका पुराना अचारहरू नखाने। मसला वर्गले शरीरमा गर्मी बढाउँछ।
–    तारे, भुटेको र सुक्खा खानेकुरा नखाने।
–    बीचबीचमा कुचुकुचु खाने बानी नगर्ने

–     चिया, कफी र कोल्ड ड्रिंक्स जस्तै कोक, फेन्टा, हर्लिक्स, भिवा आदि नखाने। यी पेय पदार्थमा चिनीको बढी प्रयोग हुन्छ।

–     पानीपुरी, चटपटे जस्ता खाना नखाने

आज अधिकांश बालबालिका रङ्गीन विज्ञापनको प्रभाव र मिठोका लागि पसलका खानेकुरा खाने गर्छन्। अभिभावक पनि सजिलोका लागि पसलका तयारी खानेकुरा टिफिनमा पठाउँछन्। यस्ता खानेकुरामा बढी चिल्लो, पिरो र स्वादका लागि कृत्रिम चिज राखिएको हुन्छ जसले स्वास्थ्यलाई असर गर्छ।

बालबालिका मात्र होइन, ठूलाहरू पनि स्वादका लागि यस्ता खानेकुराको पछि लाग्छन्। हाल कब्जियत, टाउको दुखाइ जस्ता समस्या यस्तै अखाध्य खानपानले भएको हो। त्यसैले अभिभावकले पनि बालबालिकाको स्वास्थ्यको ख्याल गरेर घरकै खानेकुरामा जोड दिऔँ। साथै स्कुलका पनि शिक्षकले बालबालिकालाई स्वस्थवद्र्धक खाना खान प्रेरित गरौं। बालबालिका स्वस्थ भए मात्र सही तरिकाले पढ्न सक्छन्। भाइबहिनी हो, तपाईहरूले पनि आमाबुबालाई घरकै खाजा खान्छौ भन्न सक्नुपर्छ।

ध्यान दिनुपर्ने कुरा
– टाउको दुख्नेबित्तिकै आफू खुशी औषधि नखाने।
– धेरै दुखेको अवस्थामा आराममा बस्ने। धेरै हावा चल्ने, धेरै गर्मी र हल्ला हुने ठाउँमा नबस्ने।
– टाउको दुख्दा गर्मीले दुखेको हो कि चिसोले थाहा पाउने। गर्मीले दुखेको हो भने टाउकोलाई चिसो पानीले खलखल पखाल्ने र आराम गर्ने। चिसोले दुखेको हो भने निधार र टाउकोमा हातले सेक्ने।
–मन र शरीर  दुवैलाई शान्त र आराम राख्ने। बिस्तारै गहिरो लामो श्वास तान्ने र बिस्तारै छोड्ने। यसरी गहिरो श्वास तान्दा शरीर भित्र सफा अक्सिजन प्रवेश गर्छ र रगत सफा हुन्छ।
–सहनै नसक्ने गरी दुखेमा वा धेरै गह्रो भएमा चिकित्सकको सल्लाह लिने।
 

कमेन्ट लोड गर्नुस