धनगढीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको ढाई महिना सम्म सेवा सुचारु भएन
भुवन भट्ट– सुदुरपश्चिममको अस्थायी राजधानी धनगढीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएपनि सेवा सुचारु भने हुन सकेको छैन्। संघीय सरकारले ७ वटै प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको थियो।
जस अन्र्तगत सुदुरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एक जना प्रयोगशाला अधिकृत र एक जना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको छ। सुरुमा भवन खोज्नमा ढिलाई गरिए पनी भाडामा भवन लिएर प्रयोगशाला स्थापना गरेको साढे दुई महिना भईसकेको छ तर अहिले सम्म प्रशासनिक काम मात्रै भईरहेको छ।
भाडामा भवन लिएर कर्मचारी व्यवस्थापन भएपनि अहिले सम्म प्रशासनीक गतिविधि मात्रै अगाडी बढाईएको प्रादेशिक प्रयोगशालाकी प्रयोगशाला अधिकृत अस्मिता सापकोटाले बताईन्। उनले बजेट माग गरिएकाले निकासा भए लगत्तै सेवा सुचारु गरिने जनाईन्।
विशेष प्रकृतिका जाँचमा सहजता हुने उद्देश्यले स्थापना गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिले प्रयोगशला सञ्चालकलाई सामान्य तालिम उपलब्ध गराउने कार्य अगाडी बढाएको उनले बताईन्। गत वर्ष प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला स्थापनाका लागि ३० लाख बजेट विनियोजन गरेको थियो।
चालु वर्षमा मन्त्रालयसंग प्रयोगशलाले पुँजिगत खर्च तर्फ तीन करोड २३ लाख माग गरिएको छ। माग भएको दुई महिना सम्म बजेट भने पाएको छैन्। तर प्रयोगशालाका लागि आपुर्ती केन्द्रलाई बजेट पठाईएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नरेन्द्र कार्कीले बताए।
उनले आपुर्ती केन्द्रसंग समन्वय गर्न परिपत्र समेत गरिएको जानकारी दिए। झण्डै साढे तीन वर्षको पहलपछि २०७४ सालको कात्तिकदेखि सेती अस्पतालमा क्षेत्रिय प्रयोगशालाको नाम दिएर सञ्चालन गरिएको थियो। तर नाम क्षेत्रीय प्रयोगशाला भएपनि अस्पतालले आफ्नै प्रयोगशाला मात्रै सञ्चालन गरेको थियो।
यस वर्ष आफ्नै भवन लिएपनि सेवा सुचारु नहुँदा अहिले सानोतिनो जाँचका लागी पनि परनिर्भर हुनुपर्ने बाध्यता रहेको छ। प्रयोगशालामा आवश्यक उपकरण खरिदको प्रक्रिया समेत अगाडी बढेको छैन्।