डोटीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ६१ जनाको उपचार
डोटी: डोटीको सुजंङ्ग अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ६१ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा डोटी, डडेल्धुरा, अछाम, बाजुरा लगायत जिल्लाका बिरामीहरूले समेत स्वास्थ्य सेवा लिएको नयाँ समाज नेपालका अध्यक्ष रोशन कठायतले बताए। नयाँ समाज नेपाल डोटी, सुजंङ्ग अस्पताल राजपुर डोटी र सिपि अस्पताल प्रा.लि. धनढीको संयुक्त आयोजनामा आयोजित एक दिने शिविरमा बिरामीहरुको स्वास्थ्य चेकजाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरको शनिबार बिहान पुर्व मन्त्री तथा सुजंङ्ग अस्पताल संचालक संस्था ग्रामिण विकास सेवा केन्द्र डोटीका अध्यक्ष भक्त बहादुर बलायरले उद्घाटन गरेका थिए। शिविरको उद्घाटन गर्दै बलायरले ग्रामिण क्षेत्रका जनताको नाजुक स्वास्थ्य अवस्था देखेर नै जिल्लामा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न सुजंङ्ग अस्पतालको स्थापना गरेको बताए।
शिविरमा सिपि अस्पतालका वरिष्ट पेट रोग विशेषज्ञ सर्जन डा.सिपि पाण्डेय, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. पुजन रन्जीत, पेट दम छाला ब्लडपेसर, सुगर सम्बन्धि वरिष्ठ कन्सन्टेन्ट फिजिसियन डा. गौरव कुमार गुप्ता लगायत अन्य वरिष्ठ चिकित्सकहरुले सेवा दिएका थिए।
उपचारमा संलग्न डा. सिपि पाण्डेले बिरामीहरुमा पेट सम्बन्धि पत्थरी, हाडजोर्नी, नशा तथा दमको बढी समस्या देखिएको बताउँदै धनगढी स्थित सिपि अस्पतालमा शल्यक्रिया सहितको उपचार हुने गरेको बताए। उनले शिविरमा आएका बिरामी उपचारका लागि सिपि अस्पताल आउँदा सहुलियत दिने समेत बताए।