१० महिनामा ८० एचआइभी संक्रमित फेला
चितवनमा वितेको १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन्। भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन्। अस्पताल र समुदायस्तरमा १३ हजार ६२५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्।
जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका छन्। एचआईभी र टिबी लागेका २१ जना छन्। सन् २०१९ मा १ सय १६ जनाले एआरभी औषधि लिन सुरु गरेका छन्। सन् २०१९ मा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश रक्सी सेवन, लिभर र मुटु रोगी, टिबी भएका संक्रमित भएकाहरु रहेको एआरटी सेन्टरका संयोजक तथा एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ)का क्षेत्रीय संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए।