‘भिजिट नेपाल २०२०’ को गीतमा अटाएन सुदूरपश्चिम
२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल बनाउन तयार पारिएको गीतमा सुदूरपश्चिम अटाउन सकेको छैन्। गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको चर्चा गरिएको दावी गरिएपनि सुदूरपश्चिमको एउटा पनि पर्यटकीय क्षेत्रको चर्चा भएको छैन्।
भिडियोमा सुदूरपश्चिमका एउटा पनि स्थान देखाईएको छैन् भने अडियोमा एउटा पनि पर्यटकीय क्षेत्रलाई समेटिएको छैन्। भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा, तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा सीमित पारिएको छ। गीतको शब्दमा पनि पुर्वी नेपालका पर्यटकीय क्षेत्र मात्रै अटाएका छन्। यद्यपी पुतला र रानाथारु नृृत्य छोटोमा देखाईएको छ।
उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपक वहादुर खड्काले गीतमा सुदूरपश्चिमका कुनै पनि पर्यटकीय क्षेत्रको नाम नसमेटिनु दुखद रहेको बताए। उनले भ्रमण बर्षलाई पूर्वी नेपालमै सीमित पार्न खोजिएको भान भएको समेत गुनासो पोखे।
गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन्। गीतमा गायक आनन्द कार्कीको आवाज रहेको छ। युवटुवमा उक्त भिडियोलाई अफिसियल म्युजिक भिडियो २०२०/२०७६ भनिएको छ।