नेपाल नघुमे जीवन सार्थक हुँदैन : सगरमाथा चढ्ने पहिलो लेबनानी महिला
सगरमाथाको सफल आरोहण गरेकी पहिलो लेबनानी महिला फतिमा डेरयानले जीवनकालमा एक पटक नेपाल नघुमे जीवनको सार्थकता नहुने बताएकी छिन्। नेपाल पर्यटन वर्ष २०२० को उद्घाटन समारोहलाई यूएईमा सम्बोधन गर्दै उनले सगरमाथा आरोहणका अनुभव सुनाइन्। फतिमाले सगरमाथा चढेको दिन आफूले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भएको उल्लेख गरिन्। उनले नेपालीको मन सगरमाथाजस्तै उचो भएकाले पनि नेपाल घुम्न जान विदेशी समुदायलाई आग्रह गरे।
सगरमाथा चढ्ने बेला शेर्पा दाजुभाइले गरेको सहयोग सम्झँदै कठिन यात्रामा नेपालीहरु कति सहयोगी हुन्छन् भन्ने कुरा त्यतिबेला आफूले बुझेको फतिमाले स्मरण समेत गरिन्। नेपाल घुम्ने बेला सगरमाथाको फेदमा गरेको पूजा र त्यही बेला लगाएको घाँटीको माला देखाउँदै आफूलाई त्यो मालाले शक्ति प्रदान गरिरहेको बताइन। नेपाल पर्यटन वर्षको अवसरमा यूएई सरकारका उच्च पदस्थ अधिकारी तथा यूएईमा रहेका विभिन्न क्षेत्रका विदेशी प्रतिनिधिहरुको उपस्थितिमा नेपाली दूतावास यूएईले मंगलबार साँझ आबुधाबीमा गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रित फतिमालाई नेपाली दूतावासले सम्मान समेत गरेको थियो।
कार्यक्रममा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फतिमालाई नेपाली कोसेली तथा चिनोसहित सम्मान पनि गरे। नेपाल भ्रमण वर्षको अवसरमा नेपाल पर्यटन बोर्डले निर्माण गरेका वृत्तचित्र, फोटो प्रदर्शनी, सुदूरपश्चिमको छलिया नाच, कुमारी नाचसमेत प्रस्तुत गरिएको थियो । उपस्थित पाहुनालाई नेपाल भ्रमण वर्ष लेखिएका हाते झोलामा नेपाली कोसेलीसमेत प्रदान गरिएको थियो ।
नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नेगरी आयोजित कार्यक्रममा नेपाल भ्रमण गर्ने लक्षित समुदाय अन्तर्गत विश्वविद्यालय, होटल तथा पर्यटन व्यवसायी, एयरलाइन्स, विदेशी लगानीकर्ता तथा नेपाली समुदायका प्रतिनिधिहरुसमेत गरेर झन्डै एक सय जनाको उपस्थिति थियो। गएको मे २२ मा सगरमाथा आरोहण गरेकी २६ वर्षीया अरबी युवती फतिमाले कार्यक्रममा सम्बोधन गरेलगत्तै उहाँलाई बिदेशी पाहुनाले भेटेर नेपाल र सगरमाथा बारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा स्थानीय सञ्चारमाध्यमका सम्पादकहरुको समेत सहभागिता थियो । सहभागीका भिजिटिङ कार्डहरुबाट गोला प्रथा गरेर एक जनालाई नेपाल एयरलाइन्सले नेपालको दुईतर्फी हवाई टिकट प्रदान गरेको थियो । दूतावासका द्वितीय सचिव भुवन ओझा, श्रम काउन्सिलर भेषबहादुर कार्की, तृतीय सचिव नारायण ज्ञवाली, रामविनय राय, लेखाप्रमुख पुण्यवती पौडेल तथा दूतावासका स्थानीय कर्मचारी र नेपाली समुदायले अन्तर्रा्ष्ट्रिय प्रतिनिधिहरुलाई स्वागत गरिएको थियो ।