सुदूरपश्चिममा पोष्टमार्टमका लागि पनि सास्ती
धनगढी : माघ १७ गते शुक्रवार राती ११ बजे धनगढी–स्याउले सडकमा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उप–महानगरपालिका वडा नम्वर ७ का २५ वर्षिय पंकज चौधरीको मृत्यु भयो।
दोश्रो दिन बिहान घटनाबारे प्रहरीमा जाहेरी दिइसकेपछि प्रहरीले मुचुल्का बनाएर सबै कागजात तयार गर्दै सेती प्रादेशिक अस्पताललाई दियो। २५ बर्षको कलिलो उमेरमै मृत्यु हुँदा परिवार र आफन्त शोकमा थिए तर शवको पोष्टमार्टम नहुँदा उनीहरुलाई पीडा झनै थपियो। पोष्टमार्टमका लागि प्रदेश सासंद हुँदै मन्त्री सम्म गुहार्न पर्ने बाध्यता आयो।
मृतकका मामा समेत रहेका प्रदेश सभा सदस्य कुलविर चौधरीले अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई फोन गर्दै पोष्टमार्टमका लागि डाक्टरलाई भनिदिन आग्रह गरे तर अध्यक्ष जोशी शनिवार भएको भन्दै पन्छिए। पछि सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई फोन गर्दै अनुरोध गर्दा शनिवार ४ बजे पोष्टमार्टम भयो। प्रदेश सभा सदस्य चौधरीले दिनेश खबरलाई भने, ‘सासंदको आफन्तको मृत्यु हुँदा त पोष्टमार्टम गराउन सास्ती छ। सर्वसाधारणहरुलाई कति समस्या होला?’
सेती प्रादेशिक अस्पताल मात्रै होईन सुदूरपश्चिमका सरकारी अस्पतालमा शवको पोष्टमार्टममै ढिलाई हुने समस्या छ। विभिन्न घटनामा ज्यान गुमाएकाहरुको शव पोष्टमार्टम गर्दा पीडित परिवारले घण्टौ सम्म शवगृहमै पर्खिनुपर्ने बाध्यता रहेको हो। कहिले प्रहरी कार्यालयबाट कागजी प्रक्रिया पूरा गर्दा ढिलो हुने गरेको छ भने कहिले अस्पतालहरुले विभिन्न समस्या देखाएर पोष्टमार्टम गर्न ढिलाई गर्ने गरेका छन्।
अस्पतालमा कहिले स्वीपर नभएको भन्दै पोष्टमार्टम गर्न ढिलाई हुने गरेको छ भने कहिले डाक्टर नै नभएको भन्दै पन्छिने प्रयास भईरहेको गुनासो पीडित परिवारको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार कुनै पनि घटनामा शवको पोष्टमार्टम अघि मृतकका आफन्तबाट प्रहरी कार्यालयहरुमा जोहेरी दर्ता हुनुपर्छ।
त्यसपछि सबै प्रक्रिया पुरा गरेर प्रहरीले पोष्टमार्टमका लागि सरकारी अस्पतालहरुलाई अनुरोध गर्ने गरेको छ। प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘विदाको दिन केही ढिलो हुने गरेको छ। तर पनि हाम्रो अनुरोधपछि पोष्टमार्टम गरिदै आएको छ।’
सरकारी अस्पतालहरुले भने प्रहरीबाट प्रक्रिया पूरा हुनासाथ पोष्टमार्टम भईरहेको दावी गरेका छन्। सेती अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशीले प्रहरीले प्रक्रिया पूरा गरेपछि पोष्टमार्टममा ढिलाई नहुने बताए। सार्वजनिक विदाको दिन भने डाक्टर अस्पतालमा नहुँदा समस्या भईरहेको उनले बताए। सेती प्रादेशिक अस्पतालका निमित्त मेसु डाक्टर शेरवहादुर कमरले भने जनशक्तिको अभावका कारण कहिले ढिलो भएको हुन सक्ने बताए।
परिवारको सदस्यलाई गुमाउनुपर्दाको पीडा र त्यसैमा पोष्टमार्टममा हुने ढिलाईका कारण अस्पतालको शवगृहमा घण्टौ सम्म पर्खिनुपर्ने समस्याले झनै पीडा भोग्नुपर्ने बाध्यता रहेको छ।