कैलालीमा १ मंसिरदेखि धान खरिद गर्दै सरकार, छ खरिद केन्द्र
धनगढी: सरकारले कैलालीमा आगामी मंसिर १ गतेदेखि किसानको धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका छ स्थानमा खरिद केन्द्र सञ्चालन गरी धान खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयका अनुसार धनगढीको मोहनपुर, गौरीगंगा, भजनी र टीकापुरलगायत स्थानमा धान खरिद डिपो स्थापना गरिनेछ।
कार्यालय प्रमुख दीपक थापाले निर्धारित मितिदेखि नै किसानको धान खरिद सुरु गरिने जानकारी दिए।
कम्पनीले चालु वर्ष कैलालीबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। तर सरकारी खरिदको कोटा सीमित हुँदा जिल्लाका सबै किसानले आफ्नो उत्पादन कम्पनीलाई बिक्री गर्न पाउने अवस्था छैन।
सरकारी खरिदको मात्रा कम भएकाले बाँकी धान व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ। कार्यालय प्रमुख थापाले पनि धान खरिदको कोटा बढाउनुपर्ने आवश्यकता रहेको भन्दै सम्बन्धित निकायमा आग्रह गरिने बताए।
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६०० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। तर समर्थन मूल्य तोकिए पनि किसानले व्यवहारमा सोही मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन्।
मल, बीउ, सिँचाइ, मजदुरी र कृषि उपकरणको लागत बढिरहेको अवस्थामा समर्थन मूल्यभन्दा कममा धान बेच्नुपर्दा लगानीसमेत नउठ्ने जोखिम रहेको किसानको भनाइ छ।
किसान तथा सरोकारवालाले सरकारी धान खरिदको कोटा र खरिद केन्द्रको संख्या बढाउन माग गरेका छन्। पर्याप्त खरिद केन्द्र नहुँदा टाढाबाट धान ढुवानी गर्नुपर्ने, लागत बढ्ने र समयमै उत्पादन बिक्री गर्न नसकिने समस्या रहेको उनीहरूको भनाइ छ।