पुच्छरमा टोकेर गाई दौडाउँने अनौठो पर्व !
विविधताले भरिएको यो संसारमा विविध ठाउँमा बिभिन्न किसिमका परम्परा कायम छन्। कतिपय परम्पराहरु यस्ता हुन्छन् जो सुन्दैमा अचम्म लाग्छ। यस्तै एउटा परम्परा इण्डोनेसियामा छ। इण्डोनेसियामा एउटा यस्तो दौड प्रतियोगिता हुन्छ जसमा मानिसको साटो गाईलाई दौडाइन्छ। ४ सय वर्षदेखि चलिरहेको गाई दौड प्रतियोगिता किसानहरुको प्रतिष्ठाको लडाइँ हो। दौडमा आफ्नो गाईलाई धेरै भन्दा धेरै दौडाउनका लागि किसानहरुले गाईको पुच्छरमा जोडसँग टोक्दछन् तथा गाईको पुच्छर निमोठ्छन्।
यो गाई दौड महोत्सवलाई इण्डोनेसियामा पाकु जावी भनिन्छ। पश्चिम सुमात्राको तनाह दतारमा हरेक वर्ष धान रोपिसकेपछि यो महोत्सव हुन्छ। यो महोत्सवमा किसानहरुलाई आफ्नो गाईको तागत देखाउने निकै राम्रो मौका हुन्छ। यो दौडमा पहिलो हुने गाईको मालिकले आफ्नो गाईलाई धेरै भन्दा धेरै मूल्यमा बेच्न सक्छ। पहिलो हुने गाईको मालिकले जति मूल्य बोलेपनि गाई किन्ने मान्छे तयार हुन्छन्।
यो दौडका लागि तयार पार्न किसानहरुले आफ्नो गाईलाई रिकुटे सैनिकलाई जस्तै गरी तालीम दिन्छन्। जसरी होस् आफ्नो गाइले दौड जित्नुपर्छ भन्ने मनमा राखेर गाईको स्याहार सुसार गर्छन्। गाई दौडाउने यो पर्व इण्डोनेसियामा प्रचलित छ र यो पर्व हेर्न टाढा टाढाबाट पनि मानिसहरु आउँछन्। एजेन्सीको सहयोगमा