सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सिङ्गल लाइफ’का यस्ता छन फाइदा!

२०७६ फाल्गुन ११, ०६:२० खबर संवाददाता

पछिल्लो समय विश्वभरि नै अधिक सङ्ख्यामा मानिसहरु ‘सिङ्गल’ जीवन छनोट गरिरहेका छन्। कहिल्यै विवाह नगरेका, डिभोर्स गरेका वा एक्लै बस्नु अमेरिकामा मात्र नभएर सबैतिर ट्रेन्ड बन्दै गइरहेको सेन्सस ब्यूरोले जनाएको छ। यसरी विवाह र सम्बन्ध कम सामान्य बन्दै गएता पनि यससँग एक्लोपनाको भावना पनि जोडिएको हुन्छ। तर हालैको एउटा रिसर्चका अनुसार भने अधिक मानिसहरले सिङ्गल जीवनलाई वैवाहिक सम्बन्धमा बाँधिनु अगाडिको यात्रा नभएर खुसीको गन्तव्यका रुपमा लिइरहेका छन्। 

जेरुसेसलस्थित हेब्रु युनिभर्सिटीका प्रोफेसर डाक्टर एलाकिम किसलेभले सिङ्गल हुनुले मान्छेलाई आफ्नो अलगै परिभाषा दिलाउन मद्दत गर्ने गरेको पत्ता लगाएका हुन् जसमा हामीले एक्लो महसुस गर्नु नपर्ने र सामाजिक रुपमा आफूलाई असफल पनि ठान्नु नपर्ने उनी बताउँछन्। उनका अनुसार एक्लो हुनु दुःखको स्रोत नभएर वास्तवमा यसका थुप्रै फाइदाहरु छन्। यसका लागि उनले अमेरिकी र युरोपेली डाटाबेसको अध्ययन गरि सिङ्गल जीवनबाट कसरी मान्छे खुसी भइरहेका छन् भन्ने खोजी गर्न थुप्रै अन्तर्वार्ता गरेका हुन्। 

उनी भन्छन, “अधिकांश समुदायहरुमा अहिले सिङ्गलहरुको जनसङ्ख्या बढ्दो छ। यसबीच हामीले एक्लो जीवन बिताउनेहरु दुःखी, असन्तुष्ट र सबैले साथ छोडेका हुन्छन् भन्ने धारणा बदल्न जरुरी भइसकेको छ।” अध्ययनका अनुसार जापान, इटली र स्वीडेनमा पनि सिङ्गल जीवनमा व्यापक वृद्धि भएको छ। किसलेभका अनुसार सिङ्गलहरुमा एक्लोपनाको भावनालाई सशक्तिकरण र हर्षमा परिणत गर्ने क्षमता हुन्छ। 

यसरी एक्लोपनाबाट आफूलाई बाहिर निस्किन पहिले यसको मुख्य कारण पहिचान गर्नुपर्ने उनी बताउँछन्। मनोविद्हरुका अनुसार पनि एक्लोपनाको भावना वास्तवमा एक्लै भएर होइन,  एक्लो भएजस्तो भावना विकास गर्नुका कारण हुन्छ र यसअघिका थुप्रै अनुसन्धानहरुले पनि विवाहित मानिसहरु सिङ्गल जत्तिकै एक्लो र दुःखी हुने गरेको देखाएका छन्। 

के कारणले खुसी हुन्छन् ‘सिङ्गल’ मान्छे?

किसलेभले अध्ययन गरेको डाटा अमेरिकी तथ्याङ्क ब्यूरो र युरोपियन सोसल सर्भेबाट लिइएको थियो। यसमा उनले तीसवटा भन्दा धेरै देशमा सम्बन्धका ट्रेन्डहरुबारे अनुसन्धान गरेका हुन् र १४० जनाको अन्तर्वार्ता पनि लिएका थिए। यसमा तीस देखि ७८ वर्षका महिला पुरुष र सबै पृष्ठभूमि अनि सामाजिक आर्थिक स्तरका व्यक्तिहरु समावेश गरिएको थियो। त्यसबीच उनले खुसी सिङ्गल र दुःखी सिङ्गलहरु बीचको भिन्नता पनि पत्ता लगाएका हुन्। 

उनका अनुसार दुःखी सिङ्गलहरु आफूले कहिल्यै सहि जीवनसाथी नपाएकामा खुसी थिएनन् र उनीहरुमा एक्लै बूढो हुनुपर्ने डर हुन्छ। अर्कोतर्फ सुखी सिङ्गलहरु चाहिँ स्वतन्त्र रुपमा आफ्नो जीवनको जिम्मा आफूले मात्र लिनेप्रति सन्तुष्ट थिए भने उनीहरु जीवनको एक्लो यात्रा नै मज्जा मानिरहेका थिए। यसमा भ्रमणमा जाने, नयाँ रुचीप्रति लगाव राख्ने गर्नु र एक्लै बिताउने समयलाई आफूमा केन्द्रित गराइ उनीहरु प्रभावकारी जीवनतर्फ लगिरहेका हुन्छन्। 

त्यस्तै किसलेभले अन्तर्वार्ता लिएका कतिपय चाहिँ परिवार, छरछिमेक र साथीहरुसँग निकट सम्बन्ध राखेर खुसी हुने गरेको पनि उनले पाए। यसमा अविवाहित वा डिर्भोस भइसकेकाहरुले सम्बन्धमा रहनेहरुको तुलनामा ४५ प्रतिशत धेरै साथीहरुसँग भेटघाट गर्ने र सम्पर्कमा रहने गरेको पनि उनी बताउँछन्। त्यसैगरी सबैमा सिङ्गलहरुमा आत्मविश्वासको कमी हुन्छ भन्ने धारणा पनि व्याप्त छ। तर यसमा वैवाहिक जीवन राम्ररी चलिरहेको वा प्रेम सम्बन्धमा रहेको एक वर्ष बितिसकेकामा मात्र त्यस्तो हुने २०१७ को एक अध्ययनले देखाएको छ। 

जस्तै कतिपय मानिसहरु आफ्ना लागि पार्टनर खोजिरहेका हुन्छन् तर कतै फेला नपार्नुले उनीहरुलाई एक्लो महसुस गराउनेदेखि आत्मविश्वास घटाउने र डिप्रेसन समेत हुने गरेको छ। तर अर्कोतर्फ खुसी सिङ्गलहरुले भने लगनशील भएर काम गरि आफ्नो करिअरको लक्ष्य पूरा गरि त्यसैबाट सन्तुष्ट र खुसी रहने गरेको किसलेभ बताउँछन्।

आफ्नो क्षमताको पूर्ण उपयोग गर्नुले पनि मानिसलाई जीवनमा सबैभन्दा ठूलो सन्तुष्टि र खुसी दिलाउने विभिन्न अध्ययनहरुले देखाएका छन्। यसमा खुसी सिङ्गलहरुले आफ्नो एक्लो जीवनलाई व्यक्तिगत विकासको अवसर ठान्ने गरेको अध्ययनमा उल्लेख छ। त्यसैले सिङ्गल हुनुले मान्छेलाई नयाँ साथी बनाउने, आफूलाई मनपर्ने काम गर्ने, आफ्नो भित्री इच्छा राम्ररी जान्ने, भ्रमणमा गइ नयाँ ठाउँहरु पत्ता लगाउने मौका दिइरहेको हुन्छ। सीएनएन
 

कमेन्ट लोड गर्नुस