मिर्गाैला क्यान्सर हुने पाँच कारण
मिर्गौला शरीरका महत्वपूर्ण अंगमध्ये एक हो। जसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ। यसको प्रमुख काम भनेको शरीरका विकार पदार्थलाई फिल्टर गरेर शरीरबाट निष्कासन गर्ने हो। यसको संक्रमणदेखि मिर्गौला फेलसम्मको समस्या हुन्छ। थोरै असावधानी वा लापरबाही गर्दा मिर्गौलामा विभिन्न समस्या सिर्जना हुन्छ र मृत्युको मुखमा समेत र्पुयाउन सक्छ। मिर्गौलामा लाग्ने प्रमुख रोगमध्ये क्यान्सर पनि एक हो।
यी हुन् मिर्गौला क्यान्सरबारे केही तथ्य :-
धूम्रपान र अत्यधिक मदिरा सेवन गर्दा तपाईंको मिर्गौलालाई क्षति पुग्ने गर्छ। जसले मिर्गौला क्यान्सरको सम्भावना पनि कैयौँ गुणाले बढाउने काम गर्छ। त्यसैले यस्तो समस्या निम्तिन नदिनका लागि आजैबाट धूम्रपान त्याग्न जरुरी हुन्छ। र, मदिरापान पनि घटाउनुपर्छ।
मिर्गौला फेल हुँदा वा ठीक तरिकाले काम नगर्दा नियमित रूपमा डायलोसिस गर्नुको विकल्प हुँदैन। तर, लामो समयसम्म डायलोसिस गर्दा पनि मिर्गौलासम्बन्धी थप खतरा बढेर जान्छ। यस्तो गर्दा पनि मिर्गौला सिस्ट अर्थात् मिर्गौला क्यान्सरको खतरा बढ्ने गर्छ। तर, डायलोसिस र मिर्गौला क्यान्सरको सीधा सम्बन्ध भने हुँदैन।
मिर्गौलाको क्यान्सर हुने एउटा कारण वंशानुगत पनि हो। वंशानुगत कारणले भने कम उमेरमै पनि मिर्गौलाको क्यान्सर हुने सम्भावना हुन्छ। यसकै कारण मिर्गौलामा ट्युमर बन्ने पनि गर्छ।
विभिन्न शारीरिक रोगका कारण पनि मिर्गौला क्यान्सरको समस्यालाई बढाएर लैजान्छ। यदि तपाईंमा उच्च रक्तचापको समस्या छ भने मिर्गौला रोगको सम्भावना पनि अत्यधिक हुन्छ। त्यसैले समय–समयमा उच्च रक्तचापसँगै मिर्गौलाको पनि जाँच गर्न जरुरी हुन्छ।
अनुसन्धानले भनेको छ कि मोटो मानिसमा मिर्गौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ। यद्यपि, मोटोपनको समस्याका कारण पनि मिर्गौला क्यान्सर हुन सक्छ। खासगरी, यस्ता मानिसमा उच्च रक्तचाप र मधुमेहको समस्या हुन्छ। र, यस्ता रोगको सीधा सम्पर्क मिर्गौलासँग हुन्छ। मोटोपनकै कारण मिर्गौला क्यान्सरको खतरा ७० प्रतिशतले बढेर जाने विभिन्न अनुसन्धानले देखाएका छन्।