सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ७, १२:१३

नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ। कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ। अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ। 

अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयका सूचना अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए। उनका अनुसार परीक्षण भएकामध्ये ८० मा १०० दशमलव ४ डिग्री ज्वरो आएको पाइएको छ। ज्वरो देखिएकालाई घरमा सर्तक भएर बस्न आग्रह गरिएको उनले बताए। उनीहरुलाई मौसमी रुघाखोकी र ज्वरोबाहेक अन्य समस्या नदेखिएको उनले बताए।

भट्टराईका अनुसार सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापनाको कामलाई तीव्रता दिइएको हो। त्यसैगरी सङ्क्रमणबाट जोगिन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको छ।

प्रदेश सरकारले सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई, पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। यसैगरी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले पनि हेल्थ डेस्क स्थापना गरेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस