सेती र महाकाली अस्पतालले भेन्टिलेटर, आईसियु खरिदको प्रक्रिया थाले
सुदूरपश्चिमका अस्पतालमा कोरोना भाईरसका गम्भीर बिरामी भए उपचारका लागि चाहिने सघन उपचार कक्ष (आईसियु) र भेन्टिलेटर व्यवस्थापनमा ढिलाई भएको छ। कोरोना भाईरसको विश्व व्यापी महामारीका रुपमा फैलिएको तीन महिना पुगेपनि सुदूरपश्चिमका अस्पतालमा भने पूर्वतयारी गर्न ढिलाई गरिएको हो।
कोरोनाको महामारीका कारण विश्व बजारमा नै यी उपकरणको अभाव देखिएका बेला संक्रमण फैलिएको तीन महिना सम्म सुदूरपश्चिमका अस्पतालहरुमा व्यवस्थापन गर्न ढिलाई भएपछि जोखिम बढ्ने चिन्ता गरिएको छ। प्रदेश सरकारले ढिलोगरी बजेट व्यवस्थापन गरेपछि खरिद प्रक्रिया थाल्नमा समेत समय लागेको छ।
सेती प्रादेशिक अस्पतालमा एउटा भेन्टिलेटर सहित पाँच शैयाको सघन उपचार कक्ष (आईसियु) रहेपनि कोरोनाका विरामीका लागि छुट्टै आवश्यक पर्ने भएपछि खरिदका लागि प्रक्रिया थालिएको छ। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीेटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले प्रदेश सरकारले दिएको बजेटले दुईवटा भेन्टिलेटर र आईसियु खरिदको प्रक्रिया थालिएको बताए।
‘दुई भेन्टिलेटर र पाँच शैया रहनेगरी आईसियु खरिदको प्रक्रियामा अगाडी बढेको छ।’ मेसु पाण्डेले भने, ‘केही दिन भित्र त्यो तयार हुन्छ होला।’ कञ्चनपुरको महाकाली अस्पतालमा चार शैयाको सघन उपचार कक्ष आईसियु सञ्चालन गर्न चार वर्ष पहिले उपकरण खरिद गरेपनि अहिले सम्म जडान भएको छैन्।
एउटा भेन्टिलेटर रहेकोमा त्यो पनि बेला बेला बिग्रिने समस्याले गम्भीर प्रकृतिका बिरामीको उपचारमा समेत समस्या हुदै आएको छ। तर भेन्टिलेटर लगायतका उपकरण खरिदका लागि प्रक्रिया सुरु गरेको महाकाली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले बताए। ढिलोगरी भएपनि सेती र महाकाली अस्पतालमा आईसियु र भेसिन्टेटर मेसिन खरिदको प्रक्रिया अगाडी बढेपनि प्रदेशका अन्य अस्पतालहरुको हकमा भने सम्बन्धीत निकायले कुनै पहल थालेका छैनन्।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले तत्काल सेती र महाकाली अस्पताललाई मात्र कोरोनाको उपचारका लागि आवश्यक पर्ने उपकरण व्यवस्थापनका लागि एक–एक करोड बजेट दिईएको बताए। तर अन्य अस्पतालमा भौतिक संरचना नहुँदा तत्काल कुनै प्रक्रिया अगाडी नबढेको उनी बताउँछन्।
अहिले सुदूरपश्चिममा एकजनामा कोरोना भाईरसको पुष्टि भएपनि संक्रमितको अवस्था समान्य भएकै कारण भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको छैन्। कोरोनाको संक्रमणले मानिसको श्वासप्रश्वासमा समस्या पार्ने भएकै कारण गम्भीर अवस्थामा श्वास दिन भन्टिलेर अनिवार्य भएको चिकित्सकहरुले बताएका छन्।
तर प्रदेशमा कोरोनाको संक्रमणबाट गम्भीर विरामी भए भेन्टिलेटर र आईसियु उपकरण अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरिएको छ। कोरोनाको संक्रमण फैलिएका विश्वका दुई सय बढि देशमा लाखौँका दरले भेन्टिलेटरको माग भईरहेका बेला सुदूरपश्चिममा एउटै भेन्टिलेटर पनि खरिद गर्न ढिलाई भएको हो।