सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत सहित तेस्रो देशबाट नेपाल आएका नागरिकलाई सम्पर्कमा आउन आग्रह

२०७६ चैत्र १७, ०८:३३ खबर संवाददाता

सरकारले ’लकडाउन’ सुरु नहुँदै कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिएका विभिन्न देशबाट नेपाल आएका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

छिमेकी देश भारत सहित तेस्रो देशबाट नेपाल आएका नागरिकबाट कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आफै सम्पर्कमा आउन आग्रह गरेको हो। सङ्क्रमण भइहाले पनि लुकेर बस्दा थप भयावह स्थिति आउन सक्नेतर्फ सचेत बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सङ्क्रमण पुष्टि भएका पनि विदेशबाट स्वदेश फर्किएका नै भएकाले उनीहरुसँगै सम्पर्कमा रहेका अरुमा पनि सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले जतिसक्दो छिटो आफैले सम्बन्धित पालिका वा प्रहरीमा जानकारी गराउन अनुरोध गरेका छन्।

त्यस्तै नेपाल प्रहरीले पनि पहिचानमा सघाउन अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले सके आफै सम्पर्कमा आउन र नआए राहदानीका आधारमा खोजिने बताए। नेपाल प्रहरीले विदेशबाट आउनेहरुको पहिचान गर्ने काम गरिरहेको उनको भनाइ छ। गएको चैत ४ गते कतार एअरवेजबाट नेपाल आएका दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ।  

कमेन्ट लोड गर्नुस