सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लकडाउनमा कडाई, सिडिओ भन्छन्–आम नागरिकको सहयोग पाएका छौँ

२०७६ चैत्र २१, ०३:३६ जनक विष्ट

सरकारले लकडाउन घोषणा गर्नु एक दिन अघि नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजार लकडाउन गरेको थियो। चैत ९ गते राती १२ बजेदेखि महेन्द्रनगर बजार लकडाउन गरेको स्थानीय प्रशासनले सरकारको निर्णय आउनु अगावै चैत ११ गतेदेखि पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्ने निर्णय गरिसकेको थियो।

यद्यपी पछि संघिय सरकारले  कोरोना भाईरसको जोखिम बढेको भन्दै भारत र चीनसँग जोडिएका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस फैलिन नदिन भन्दै सरकारले ती कदम नचाल्दै लकडाउन र नाका बन्द गर्ने निर्णय लिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सुदूरपश्चिम मात्र नभई देशकै पहिलो जिल्ला हो।

जहाँ अहिले पनि अन्य जिल्लाको तुलनामा लकडाउनमा कडाई गरिएको देखिएको छ। लकडाउनका समयमा सञ्चालनमा रहेका दैनिक उपभोग्यका अतिआवश्यक पसल र बैँक तथा वित्तिय संस्थाहरुका कारण भीडभाड बढेपछि कोरोनाको जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को कदम चाल्दै अर्को निर्णय नभए सम्मका लागि बन्द गरिदिएको थियो।

स्थानीय प्रशासनकै आग्रहमा व्यवसायी र भीमदत्त नगरपालिकाले घुम्ती पसल सञ्चालन गरी दैनिक उपभोग्यका वस्तु उपभोक्ताको घर घरमा वितरण गरिरहेका छन्। बीहिबार मात्र जिल्ला प्रशासन कार्यालयले निर्णय गर्दै बैँक तथा वित्तिय संस्थाहरु सञ्चालन गर्ने तर उच्च सावधानी अपनाउने निर्णय गरेको छ।

कैलाली सहित सुदूरपश्चिमका अन्य जिल्लामा लकडाउन उल्लङ्घन भईरहेका बेला कञ्चनपुरमा आम नागरिक र सम्बद्ध सबै पक्षको साथ सहयोग मिलेकै कारण पूर्ण कार्यान्वयन गराउन सकिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा बताउँछन्।

‘हामी सबैको एकिकृत समन्वयात्मक प्रयासले यो सम्भव भएको हो।’ प्रजिअ खतिवडाले भने, ‘अर्को कुरा हामीले जिल्ला भित्र लकडाउन आवश्यक ठानेर सरकारले घोषणा गर्नु अघि नै निर्णय गरिसकेका थियौँ। उक्त निर्णयले जिल्लामा कडाई गरिदैछ भन्ने सन्देश गईसकेको थियो। त्सले पनि सहज भयो।’

उनले आम नागरिकमा लकडाउनमा बस्दा आफै सुरक्षित हुने भावाना पनि भएकाले कार्यान्वयनमा खासै समस्या नआएको  बुझाई प्रमुख जिल्ला अधिकारी खतिवडाको छ। अर्को कुरा कञ्चनपुरमा लकडाउन कार्यान्वयन गराउन सबैभन्दा ठुलो भूमिका स्थानीय व्यवसायीले समेत खेलेको पाईएको छ।

जिल्ला प्रशासन कार्यालयले लिने निर्णयको स्वागत गर्दै कार्यान्वयनमा व्यवसायीहरुले साथ दिएका छन्। उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले लकडाउनको समयमा मातहतका संघ संगठन, व्यवसायीहरुलाई गरिएको अनुरोध सबैले मानेको बताए। मल्लले निर्वाध रुपमा व्यवसाय सञ्चालन गरेमा स्वयंम व्यवसायी र ग्राहक पनि कोरोनाको जोखिममा भन्दै गरिएको आग्रह अनुशरण भएको जनाए।

अहिले व्यवसायीहरु मार्फत नै घुम्ती पसल सञ्चालन भईरहेको मल्लले बताए।  कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउनमा कडाई गरेका बेला कैलालीमा भने उल्लङ्घन गर्ने क्रम अझै रोकिएको छैन्। तथापी केही कडाई गरिएपछि सुरुका दिनको भन्दा कम भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले सुरुका दिन भन्दा मानिसहरुले लकडाउनको पालन गरिरहेको पाईएको बताए। तर उल्लङ्घन गर्र्ने क्रम पूर्ण रुपमा नरोकिएको बताए।   कैलालीमा दिउँसोको समयमा मानिसहरु बाहिर ननिस्कने भएपनि साझपख भने किनमेल तथा विभिन्न वाहानामा आवातजावत गर्न थालेपछि भीडभाड हुने गरेको छ।

उक्त भीडभाडले कोरोना भाईरस कोभिड–१९ को जोखिम बढेको भन्दै चिन्ता बढेको छ। कैलालीमा स्थानीय प्रशासनले कठोर कदम चाल्न नसक्दा लकडाउनको पूर्ण कार्यान्वयन हुन नसकेको दावी गरिएको छ। तर कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने यस्तै अवस्था रहेमा अनिश्चितकालीन कर्फयु लगाईने चेतावनी दिएका छन्।

‘पहिलको भन्दा मान्छेहरुले लकडाउन हाम्रै लागी हो भनेर बुझेको देखिएपनि सडक आउन रोकिएका छैनन्।’ प्रजिअ बोहराले भने, ‘तर जुन किसिमले बुझ्नुपर्ने हो त्यो देखिदैन् त्यस्तै प¥र्यो, मान्नुभएन भने, अनिश्चितकालीन कर्फयुको कदम चाल्नुपर्ने देखिन्छ त्यो गछौँ।’ 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस