सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखेलौँ भ्रष्टाचारका जरालाई

२०७७ वैशाख ७, ०९:१३

-रामचन्द्र जोशी
भ्रष्ट–आचार सन्धी भै भ्रष्टाचार भँगाल्दछ 
सदाचार पखाल्नेले भ्रष्टाचार अँगाल्दछ।
कुनै आचारमा भ्रष्ट कुनै कार्य विचारमा 
बोलीमै कति छन् भ्रष्ट कति त दृष्टिदोषमा  

कति काण्ड लुकेका छन् लुकाइन्छन् कति कति 
सांसद पशु झैँ बिक्ने किन्ने कार्यहरु पनि 
धमिजा लाउडादेखि सुन काण्डहरु भए 
हत्या हिंसा बलात्कार गर्नेहरू छुटिरहे

यी सबै के सदाचार हुन् वा भ्रष्ट कुकर्म हुन् ?
निर्भीक सोध्दछ कस्ले ? जहाँ ठूला सरिक छन् । 
बिजुली निस्कने हो रे हावाबाट सधैँभरि 
त्यसैले बेच्दछन् होला नदीनालाहरू पनि

सपना झुटका बाँडी हिँड्नेहरु जहाँ जति 
यी सबै भ्रष्ट मान्ने वा सच्चा सेवक हुन् तिनी । 
दुरूपयोग पैसाको गर्नेहरू त भ्रष्ट हुन् 
कुरा मात्र गरी सिन्को नभाँच्ने के महान् हुन् ?

थाङ्नामा सुति हुर्केका करोडौँका ठुला भए 
देश मागेर चल्ने भो नेताहरू धनी भए 
के गन्ध यसमा छैन दूषित कार्यको कहीँ ?
रोल्पा रुकुम जप्नेले पनि घात गरेन कि ?

 
ठूला महलमा बस्ने पीडा गरिबका पनि 
के जान्दथे नखाएको अभाव मात्र जिन्दगी ।
विश्व संकटमा पर्छ जसै देश बिरामी छ 
राहत औषधीमा नि गिद्धेदृष्टि थुपार्दछ

सुरक्षा प्रेसमा फेरि भ्रष्ट र बेइमानले 
जग्गा जमिनको लोभ नेतृत्व फस्दछन् अरे !
राजा पाल्न नसक्नेले चम्चाका दल भर्नु छ ! 
के होइनन् भ्रष्टका रूप, यी सबै कार्य कर्तुत

बचाउने गराउने, गर्नेहरू सबै मिली 
म हानेको जसो गर्छु रोएस् तैँले बसी–बसी !
भने जस्तो चलाएको के यस्तै गणतन्त्र हो ?
झुट, भ्रष्ट र जालीको, बोलवाला छ न्याय हो !

यस्तै शासनको लागि, लडेका हुन् र वीर ती ?
देश निर्माण गर्नेले प्रपञ्च नै रचेपछि
देशभक्तहरू हेर जागौँ जो जो जहीँतहीँ ।
देश नेपालको माथ डग्नु हुन्न कहीँ पनि

 
चिनौँ भ्रष्टहरूलाई आफ्ना या परका भए
झोले चम्चे बनी हैन दृष्टिभ्रम यदि भए
कानुन हातमा लिन्छन् भने त अब जाग्नु छ !
दुर्गन्ध फैलियो धेरै सब कल्मष फाल्नु छ ! 

कवि जोशी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका शिक्षक हुन्। 
 

कमेन्ट लोड गर्नुस