गजल: यो राजनीति बडो गजब हुन्छ
(गजल १)
जब यो देश चलाउने आफ्नै देश प्रति गद्दार हुन्छ ।
हो यही अवरसवादी स्वार्थका लागि लम्पसार हुन्छ ।
यो खबर आफैमा यत्ति खराब लाग्छ मुटु काँप्छ मेरो,
कति हेरेर बस्छौ सरकार ! जहाँ दिनहुँ बलात्कार हुन्छ ।
हे ! नारीहरु जाग,हे! मान्छेहरु हामी कहिले जाग्ने हौँ,
यो त सानो नमुना हो हेर्नुस् अझै कति भ्रष्टाचार हुन्छ ।
न्याय यसरी मरेको छ पत्तो हुदैन कानुनी राज्यमा ,
कोही हत्या गरेर उम्कन्छ, चोरी गरेर फरार हुन्छ ।
पापीलाई नमर्दै सजाय दिनु पर्नेछ आँखाको सामु,
विश्वास छैन मरेपछि सजाय दिने कारागार हुन्छ ।
(गजल २)
तिम्रो बोली सुन्दाखेरी यस्तो लाग्छ जे हुन्छ अब हुन्छ ।
यो राजनीति हो हेर्नुस् राजनीति बडो गजब हुन्छ ।
समृद्धिको नारा दिएर देशलाइ कसरी खोक्रो पार्ने,
आउनुस राजनितिमा तपाइँलाई पनि अनुभव हुन्छ ।
एक धोका तिमिले दिएर गयौ अर्को आफ्नै क्रान्तिले,
त्यसैले भनिएको होला प्रेम अनि युद्धमा यो सब हुन्छ ।
यस्तो लाग्छ यो जुनिभर शान्ती समृद्धि हेर्न पाउदिन मैले,
जाग हे मान्छेहरु जब तिमी जाग्छौ बिहान तब हुन्छ ।
रेशम राज बोकटी
दोधारा चाँदनी, कञ्चनपुर