सुदूर नेपाललाई विश्वसँग जोड्दै

माटोको छोरो

२०७७ पुष १५, ०७:३४ खबर संवाददाता

आज एक किसान आफ्नो हकबाट वञ्चित देख्छु,
राज्यबाट अनि राज्यको अंगबाट विभाजित देख्छु ।

केही युद्ध संघर्षसँग, केही परिश्रमसँग,
केही खडेरी, असिना अनि केही युद्ध मौसमसँग,
हर युद्धमा विजयी तर भोकसँग पराजित देख्छु,
आज एक किसान आफ्नो हकबाट वञ्चित देख्छु ।

चोट तिनैलाई, रोग तिनैलाई अन्नको बदला भोक तिनैलाई,
लिलामीमा घरखेत अनि साहुको ऋणको बोझ तिनैलाई,
शोषकको दमन अनि शोषणबाट आजित देख्छु,
आज एक किसान आफ्नो हकबाट वञ्चित देख्छु ।

ऊ कोदाली चलाउनेछ ऊ अब हलो बोक्नेछ,
माटोको छोरो ऊ त्यही माटो मै टेक्नेछ,
बन्जर माटोमा पनि ऊ सुन देख्नेछ,
माटोको छोरो ऊ त्यही माटो मै टेक्नेछ,
हर युद्धमा आफूलाई विजयी ठान्नेछ ।

सबैलाई जीवन दिने ऊ मात्र मृत्युसँग हार मान्नेछ, 
आज एक किसान केही थकित तर जिवित देख्छु,
केही थकित तर जिवित देख्छु,
आज एक किसान आफ्नो हकबाट वञ्चित देख्छु ।

-एस. श्लोक
 

कमेन्ट लोड गर्नुस