दुर्घटनामा बाँचेका गायक
डोटी जिल्लाको साविकको सरस्वतीनगर गाविसबाट कुनै बेला एक युवक नेपाली चलचित्र क्षेत्रमा चर्चित कलाकार बन्ने आशा बोकेर काठमाडौं छिर्यो । तर सुदूरपश्चिमबाट नेपाली चलचित्र क्षेत्रमा सजिलै चम्किलो तारा बन्न सकिने त कुरै भएन ।
फिल्मी कलाकार बन्ने आशा बोक्दै पहिलो पटक काठमाडौं पसेका सौगात ओझालाई काठमाडौँमा दैनिकी बिताउन पनि हम्मे हम्मे हुन थाल्यो । देशको राजधानी न कोही आफन्त छन् न परिचित व्यक्तीहरु नै । खाना खान र बस्ने व्यवस्था पनि नहुँदा दुई दिन रत्नपार्कमा भोकै सुतेका सम्झाना ओझालाई अहिले पनि आईरहन्छ ।
सोही बेला चितवनका एक जना नृत्य प्रशिक्षक छिरिङ लामाले आफ्नो कार्यालयमा काम गर्ने मौका दिए । तर भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्थे हो रैछ । त्यहा काम गर्दागर्दै ओझा बिरामी परेपछि अस्पतालमा जाँच गराउँदा मुटुको रोग देखाईएको थियो । नेपाली चलचित्र क्षेत्रको चम्किलो ताार बन्ने आशा बोक्दै काठमाडौँ छिरेका ओझाको सपना चकनाचुर भयो र निराशा बोक्दै फेरी उहीँ आफ्नै जन्मथलो डोटीको सरस्वतीनगर फर्किए ।
२०४३ माघ १० गते डोटीको सरस्वतीनगरमा बुवा भोजराज ओझा र आमा भागरथीको कोखमा जन्मिएका ओझाले पिडाका भारी बोक्न अझै थुप्रै बाँकी थियो । नेपाली चलचित्रमा अभिनता बन्ने रहर पुरा नभएर निराश भएका ओझाले आफै भित्र रहेको गायन क्षमतालाई सदुपयोग गर्ने सोच बनाएर २÷३ वटा गीत बजारमा पनि ल्याए । तर २०७१ साल असोज २० सौगात ओझाका लागि कालो दिन भएर आयो ।
३१ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनालाई जोरायलवासीले कालो दिनका रुपमा हेर्दै आएका छन् । जोरायलमा भएको भयानक सडक दुर्घटनाले गायक सौगात ओझाका धेरै सपनालाई चक्नाचुर बनाई दियो । सो बस दुर्घटनामा ३१ जनाले ज्यान गुमाउँदा ओझाले पनि आफ्नी आमा, हजुरआमा र छोरी गुमाउनु पर्र्यो । यति मात्रै नभएर उनी स्वयंमले दुर्घटनामा परि २१ दिन अस्पतालको सैयामा उपचार गराए । उनकी श्रीमती पनि घाईते भईन् ।
अर्को सालनी दशैँ आउँला कस्ले टिका लाउला
यो संसारमा मेरी आमा खोजेर कहाँ पाउला ।
न त मैले लाशै देखे, न दाग बत्ति दिए
अस्पतालको शैयाबाट आँसु पुछ्दै थिए ।।
जोरायल बस घटनाको विश्लेषण गरिएको यो गीतले भने झै गायक सौगत ओझाले दुर्घटनामा आफ्नी आमा गुमाउँदा न आमाको लास देख्न पाए न त दाग वत्ती नै दिन पाए । अस्पतालको सैयाबाटै ओझाले लेखेको यो गीत सुनेर धेरैले गायकको पिडामा साथ दिएर आँशु झार्छन होला ।
ठुलो कालबाट बाँचेको छु र आज गीत गाउँदै छु म
तपाईको गाउँ शहरमा अव छिट्टै आउँदै छु म ।
सौगात ओझा जिवित भयो अझै जिवित रहोस भनी
मेरा दर्शक श्रोताको आर्शिवाद पाउँदैछु म ।।
दुर्घटनामा बाँचेका गायक ओझा जव नेपालीहरुको महान चाड दशैँ नजिकै आउँछ फेरी त्यही भयानक दुर्घटनालाई सम्झिन बाध्य हुन्छन् । दुर्घटनामा ओझाले आफ्नै परिवारका सदस्यसंगै आफ्नै गाउँलेहरुलाई गुमाएका थिए ।
मेरी छोरी, मेरी आमा मेरा साथीभाई
त्यो आत्माले शान्ति पावस जाने सवैलाई ।
इस्तो घटना नहोस अव कानुन बन्नैपर्छ
यो देशको सरकारलाई केहि त भन्ने पर्छ ।।
दुर्घटनामा बाँचेका गायक ओझाले सांगीतीक यात्रालाई पनि निरन्तरता दिन सक्दैनन की भन्ने धेरैले अनुमान गरेका थिए । तर उनले दुर्घटनापछि भारतका अस्पतालमा भर्ना भएकै बेला सोही घटनाको गीत निकाल्ने जमर्को गर्दै गीत लेखिसकेका थिए । अब भने सो पीडालाई भुलाउन उनले धेरै नयाँ गीत लिएर बजारमा आएका छन् । ओझाले गाडीले ज्यान गयो, मनभित्र तिमी छौ, आशु बगाएर, ओई काली काली, सोचे जस्तो कहिल्यै नहुने, फुर्सदमा छैन म, शिबजी कि पार्वती, इसारा के गरि गरि लगायतका गीत बजारमा ल्याइसकेका छन् ।