धनगढीमा गुञ्जिए समर्पण र कलावती
शनिवारको दिन व्यस्त धनगढी, कतै मन्त्री र जनप्रतिनिधिहरुका कार्यक्रम, कतै हप्ताभरीको विदाको रमझम, कतै न्यायका लागि संघर्ष चलिरहँदा धनगढीको मुटुमा रहेको पार्कमोड स्थीत एक होटेलमा धनगढी साहित्य साँझले माहोल तताईरहेको थियो। गजल बाचन, गजल गायन र कविता बाचनमा सहभागीहरु झुमीरहेका थिए। अछाम जन्मथलो भई कैलालीलाई कर्मथलो बनाउँदै आएका श्रष्टा तिलक बोहरा समर्पणका गजल, बझाङ जन्मथलो भई हाल कैलालीलाई नै कर्मथलो बनाउँदै आएकी अर्की श्रष्टा कलावती उपाध्यायको कविता बाचनसंगै गायक नरेश जोशीको गायनले शनिवार धनगढीको माहोल तताएको हो।
रचना बाचन समूह धनगढकिो आयोजनामा समर्पण र उपाध्यायको सयुक्त रचना बाचन कार्यक्रमको अयोजना गरिएको हो। समपर्णका गजल र उपाध्यायका कविता बाचनमा दर्शकहरु ताली बजाएर साथ दिईरहेका थिए भने गायक नरेश जोशीको गायनले पनि दर्शकको मन जितन सफल भयो। २०७३ सालमा युवा कवि जनक रसिकको एकल रचना बाचन गरि सुरु गरिएको कार्यक्रम अहिले सयुक्त रचना बाचनमा परिणत भएको हो।
टिकट काटेर साहित्यिक कार्यक्रममा सहभागी हुने प्रचलन नभएका बेला सुरु गरिएको धनगढी साहित्य साँझले विस्तारै रचना सुन्न पनि टिकट काट्न पर्छ भन्ने मानसिकता बनाउन थालेको छ। यसले धनगढीमा अब साहित्यको माहोल अझै फष्टाउने संकेत गरेको उकल रचना बाचन समूहका सदस्य रसिकले बताए। २ बर्षमा ५ श्रृखला मात्रै भएको अवस्थामा अव २ महिनामा एक पटक धनगढी साहित्य साँझ गर्ने र पालैपालो सवै श्रष्टालाई मौका दिने समूहका अर्का सदस्य डिल्लीराज ओझा समर्पणले दावी गरे।