सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्तित्वको खोजीमा

२०७५ पुष १४, ०१:४३

दुई थुम्का इश्वर ढोगिदिए मात्र
पुग्ने रहेछ, पुगिने रहेछ
कुमार !
तिमीले व्यर्थै सुमेरु परिक्रमा गर्यौ ।

जब पुग्नु थियो यही ठाउँ
तिमीले व्यर्थै सुमेरु परिक्रमा गर्यौ
यो पहिलो हुनेले जित्ने विन्दु हो
जहाँ तिमी दोस्रोमा पुग्यौ ।

यहाँ कसैले सोध्ने छैन तिमीलाई
कुन पहाड नाघ्यौ
कुन जंगलमा हरायौ
कुन भीरमा ठोक्कियौ
कुन आँधीमा हेलियौ
कुन सागरमा तैरियौ

यहाँ कसैले सुन्ने छैन
बस्तिको कथा
इतिहासको धून
पसिनाको गन्ध
रगतको बहाव
तिमीले देखिआएको
धर्तीको मुर्छना
कुमार !
तिमीले व्यर्थै सुमेरु परिक्रमा गर्यौ ।

यो समयको चौघेराभित्र
नयाँ मण्डपहरू तयार भएका छन्
मलाई थोरै अस्तित्व चाहिएक‍ो छ
पखेराहरुमा कुहिरो दौडिरहेको छ
मलाई सानो क्षितिज चाहिएको छ
ठीक यही बेला
एक टुक्रा घामको खोजीमा
मैले सपनाको उडान भरेको छु
कुनै वाहन छैन मसँग
पंखहरु उम्रिएका छैनन् मसँग
बाटो देखेको छैन भूलभुलैया भित्र
छुट्याउनु मुश्किल परेको छ मलाई
यो आकाश हो कि बादल हो
यो बयेली हो कि आँधी हो
यो सागर हो कि सुनामी हो
यो धरती हो कि रणभूमि हो

कुमार ! ठीक तिमीले जस्तै
मैले बुझ्न नसकेको सुमेरू परिक्रमा गरेर
पुग्न सकुला कि नसकुला पहिलोमा
मेरो जीवनको अन्तिम इश्वरसम्म
जहाँ देख्न पाइयोस्, उज्यालो मात्र ।

कुमार ! तिमीलाई सम्झेर
दर्शनका रुद्राक्ष जपिरहुँ
कि खियाउँदै जाउँ कर्मको डुंगा,
कागजकै सूर्यमाथी ल्याप्चे लगाउँ
कि टेक्दै जाउँ पैतलाले आफ्नै सपनाको गोरेटो

मलाई थाहा छ-
बादल पारी
एउटा सूर्य त बाँचेकै छ।
 

कमेन्ट लोड गर्नुस