धनगढीकी खुसी, जसले लकडाउनमा लेखिन् २ वटा पुस्तक(भिडिओ)
धनगढी: तपाईं कहिल्यै सयौं दिन घरको घरमै बस्नुभयो ? साथीभाइलाई भेट्न पनि डराउनुभयो ? विद्यालय लगातार महिनौं बन्द भएको देख्नुभयो ? यस्ता यस्तै प्रश्न ५÷६ दशकपछि आउने सन्ततिले सोधे भने अहिले हुर्किरहेको पुस्ताका व्यक्तिहरुलाई सोधियो भने अधिकांशको जबाफ ‘हो बसे, डराएर, देखे’ हुनेछ।
इतिहासमा अब त मानवजाति सकिन्छ कि भन्ने सम्मको चिन्ता कोरोनाले हरेको मनमा ल्यायो। हरेक चिजका लागि विषम् स्थिति कोरोनाले निर्माण गर्यो। कतिको ज्यान लियो, कतिका आफन्त रहेनन्, कतिका सपना टुटे भने कतिका हिम्मत। नेपालमा पनि दुई चरणमा लकडाउन भयो। स्कुलहरु धेरै समयसम्म बन्द भए। विद्यार्थीहरु त्यतिकै घरमा बसिरहे। केही समयपछि भने वैकल्पिक रुपमा अनलाइनमार्फत पढाइ हुन सुरु भयो। मानव जाति कहिल्यै नभोगेको कुरा २०७७/७८ सालमा भोग्न बाध्य भयो। स्वास्थ्य क्षेत्रका मान्छे बाहेक सबैजसो फुर्सदमा देखिन्थे। अधिकांश समय मान्छेहरु परिवारसँग नै हुन्थे। कोहीले अपवादमा परिवारसँग पुग्न पनि पाएनन् होला। तर सामान्य चित्रमा समाजमा यस्तै थियो।
लकडाउनमा समय कसरी व्यतित गर्ने भन्ने कुरा एकदम व्यस्त रहने व्यक्तिहरुले पनि लकडाउन सुरु हुँदै गर्दाका दिनहरुमा सोच्न थाले। कतिले यो खाली समयको पनि पूर्ण सदुपयोग आफ्नो रुचिको क्षेत्र, जसमा अन्य समयमा ध्यान दिन पाइएको थिएन त्यसमा लगाए। लकडाउनको समयमा लेख्ने, चित्र कोर्ने, घर सजावट गर्ने, खाना पकाउन सिक्ने, व्यवहार निर्माण गर्ने आदि इत्यादि कुराहरु गर्न सकिन्थ्यो। तर पनि धेरैले अनलाइनमा अत्यधिक समय मनोरञ्जनात्मक क्रियाकलापमा लगाएरको पनि देखियो।
त्यहि लकडाउनमा एक किशोरीले लेख्नमा आफ्नो समय बिताइन्। लकडाउन भन्दा पहिला कहिल्यै बाह्य कुरामा कलमा नचलाएकी खुसीको लागि त्यो लकडाउन किताब लेखनको लागि अवसर बन्यो। धनगढी, कैलालीको नास्ट एकेडेमीमा अध्यनरत खुसीले लकडाउनमा ‘द एबीसी अफ लाइफ’ र ‘ड्याड द सेभियर्’ नामक दुई वटा पुस्तक प्रकाशनमा ल्याएकी छिन्।
धनगढीमा जन्मिएकी खुसी अग्रवालको सपना भने लेखक बन्ने होइन। उनी त चार्टर्ड एकाउन्टेन्ट बन्न चाहन्छिन्। तर पनि फुर्सदको समय लेखनमा लगाउनुपर्छ भन्ने अब उनको मान्यता बनेको छ। जीवनमा भोलि कुनै विषयमा लेखु भनेर लाग्यो, आफ्नै जीवनको बारेमा लेख्नुपर्यो भने थप लेख्ने उनको बिचार छ।
उनी लेखनको सुरुवाती दिनहरु सम्झन्छिन, ‘त्यतिखेर मनको कुरा लेख्न एउटा कपि र कलम त थियो नि। जसले न हामीलाई मुल्याकंन गर्छ। न हामीलाई नलेख भन्छ, न त्यसले तिमीले सुन्दैन भन्छ। यसरी मैले आजसम्म जे सिकेको थिए जानेको थिए, जे मनमा थियो त्यो लेख्न सुरु गरिदिए।’
उनको लेख्नमा सानैदेिख रुचि थियो तर कसैलाई देखाउने र प्रतिक्रिया लिने गरेकी थिइनन्। उनी भन्छिन् ‘अहिले मैले जानेको कुरा कसैले नजानेको पनि हुनसक्छ अहिले मेरो सिकाइले कुनै न कुनै ठाउँमा पुग्यो भने पक्कै पनि यसले कसैलाई सहयोग गर्छ भने किन मैले नलेख्ने त भन्ने लाग्यो। र, पुस्तककै रुपमा प्रकाशन गरे।’
भिडिओ
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, लेखक खुसी अग्रवालसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)