बैतडीमा देउडा प्रतियोगिता सुरु, ३२ जना प्रतियोगी सहभागी
धनगढी: बैतडीमा देउडा प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा जिल्लाको पाटन नगरपालिका-८ स्थित खोड्पेमा देउडा प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो।
स्थानीय कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको पाटन नगरपालिका-८ का वडा अध्यक्ष हरिश बिष्टले बताए। प्रतियोगितामा ३२ जना महिला तथा पुरुष देउडा प्रतियोगीहरुको सहभागिता रहेको छ। भोलि (शुक्रबार) प्रतियोगिता समापन हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्तवना स्थान प्राप्त गर्नेलाई २ हजार पुरस्कार दिइने वडा अध्यक्ष बिष्टले बताए।
यसैबीच पाटन नगरपालिका-४ को ठाँड बजार पनि देउडा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर ४ र ठाँड बजार व्यवस्थापन समितिको आयोजनामा देउडा कार्यक्रम सम्पन्न गरिएको हो। सो कार्यक्रममा महिला र पुरुष गरी ५ जनाले देउडा गीत गाएका र उनीहरुलाई एक हजारका दरले पुरस्कार प्रदान गरिएको बताइएको छ।