‘बेनीको बजार’ गीतका मोडल तथा फिल्म निर्देशक दीपसागरको निधन
धनगढीः चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ। लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए। स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए।
डीसीले राजु परियार, बीमाकुमारी दुराजस्ता चर्चित कलाकारका गीतमा समेत मोडलिङ गरेका छन्। ‘बेनीको बजार’ उनले अभिनय गरेको चर्चित गीत हो। उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए।