प्रधानमन्त्री देउवाले भनेः यो संसद नै परमादेशको हो
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले चालू प्रतिनिधिसभा नै परमादेशबाट आएको बताएका छन्। आज चलिरहेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भनिरहनुहुन्छ,’ एमाले अध्यक्ष ओलीतिर हेरेर हाँस्दै उनले भने,‘यो संसदै परमादेशको हो, उहाँहरू परमादेशबाटै आएर हामीसँग सहकार्य गरेर बसिरहनुभएको छ। त्यसकारणले परमादेश नआएको भए उहाँ र हामी यसरी सहकार्य गरेर सँगै काम गर्न पाउने थिएनौं।’
परमादेशले संसदमा फेरी भेट गर्न मौका दिएको उनले बताए। ‘परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसकारणले पनि मैले न्यायालयले पनि न्याय गरेको महशुस गरेको छु,’ उनले भने। यो अभिव्यक्ति दिनुअघि उनले संसद बिघटनको विषयलाई उठाएका थिए। उनले भनेका थिए, ‘यसैअवधि निर्वाचित संसदले २ पटक समस्या भोग्नुप¥यो। जनताका अधिकार सुनिश्चित गर्न, जनताले संघर्ष गरी ल्याएको संविधानको रक्षा गर्न राजनीतिक दलबीच सहकार्य र संघर्षगरी संविधान बमोजित चलाउने पद्धति बस्यो।’
यस्तै वर्तमान सरकारले तीन तहकै निर्वाचन गर्ने सुअवसर पाएकोमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त गरे।