उम्मेदवार छान्ने जिम्मा ओलीलाई
काठमाडौंः नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए।
‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’, ती पदाधिकारीले भने। उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो।
६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन। ‘छलफल भयो, तर निर्णय भएको छैन’, सचिव पद्मा अर्यालले भनिन्। थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले बताइन्। अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन्।
यसअघि नै समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिम रुप दिने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ।