प्रधानमन्त्री देउवा विरुद्धको उजुरीमा आरजुले बुझाइन् जवाफ
धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्। देउवाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्।
देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। देउवाले प्रमाणसहित उजुरीको जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो।
‘बिहान साढे ११ बजे प्रधानमन्त्रीले पठाउनु भएको जवाफ कार्यालयमा दर्ता भएको छ। जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिन्छौं’, वाग्ले भने। उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ।
देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक-फरक भएको भन्दै एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै विपक्षी उम्मेदवार नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले उजुरी दिएका थिए। डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो। देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवा सातौंपटक डडेल्धुरा निर्वाचन लड्दै छन्।
यो पनिः देउवाको उम्मेदवारी खारिजको माग गर्दै उजुरी, नागरिकता र मतदाता नामावलीमा ‘गडबड’
कर्ण मल्लको उजुरीबारे देउवाले मंगलबार दिउँसो २ भित्र प्रस्टीकरण दिनुपर्ने